इटहरी । पूर्वी नेपालमा सञ्चालित समता स्कुलहरूको संगठन समता स्कुल पूर्वी कन्सोर्टियमले संगठनको उद्देश्य प्राप्तिमा उल्लेखनीय योगदान पुर्याएवापत समता स्कुल इलामका प्रिन्सिपल देवेन्द्र पौडेल र समता लहानका प्रिन्सिपल कमल सिङ्तानलाई कदरपत्र सहित सम्मान गरेको छ।
कन्सोर्टियमको मुख्य कार्यालय समेत रहेको समता स्कुल इटहरीको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा यो सम्मान प्रदान गरिएको हो।
विक्रम सम्वत् २०७४ सालमा पूर्वी नेपालका समता स्कुलहरूलाई गुणस्तरीय शिक्षासँगसँगै विद्यार्थीहरूको चौतर्फी विकासका निम्ति एकसूत्रमा बाँध्ने उद्देश्यले स्थापना भएको यस कन्सोर्टियमका संस्थापन सदस्य समेत रहेका पौडेल र सिङ्तानले संगठनको मर्मअनुरूप कार्य गरेकाले यो सम्मान प्रदान गरिएको कन्सोर्टियम प्रमुख सन्तोष श्रेष्ठले बताए।
“दुवै व्यक्तित्वले कन्सोर्टियमको भावनाअनुसार विद्यार्थीहरूको सर्वाङ्गीण विकासका निम्ति अथक परिश्रम गर्दै आउनुभएको छ,” श्रेष्ठले भने।

समता इलामका प्रिन्सिपल समेत रहेका देवेन्द्र पौडेल कन्सोर्टियमको शैक्षिक विभाग प्रमुखको भूमिकामा र लहानका प्रिन्सिपल कमल सिङ्तान खेलकुद विभाग प्रमुखको भूमिकामा छन्।
समता पूर्वी कन्सोर्टियमले सदस्य विद्यालयहरूमा शैक्षिक एकरूपता कायम गर्न परीक्षा समितिमार्फत आन्तरिक परीक्षाहरू सञ्चालन गर्दै आएको छ। यसका साथै एकीकृत पाठ्यक्रम र एउटै शैक्षिक कार्यतालिका निर्माण गरी अन्तरजिल्ला खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्नु यस संगठनको विशेषता रहेको छ।
समता विद्यालयका संस्थापक उत्तम सञ्जेलले अघि सारेको मर्मअनुसार कन्सोर्टियमले सम्पूर्ण कक्षाहरूमा समान एवम् न्यून शुल्कमा अध्यापन गराउँदै आएको छ। विद्यार्थीहरूको प्रतिभालाई ठूलो मञ्चसम्म पुर्याउन खुड्किलाको भूमिका निर्वाह गर्दै आएको यस संगठनले शिक्षक तथा कर्मचारीहरूबीच सामूहिक तालिम लगायत विविध क्रियाकलापहरू पनि नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
![]()
विद्यार्थीको क्षमता र प्रतिभालाई केन्द्रमा राखी काम गर्ने यस कन्सोर्टियमको कार्यशैलीप्रति अभिभावक वर्गबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुँदै आएको छ।
समता स्कुल पूर्वी कन्सोर्टियम पूर्वी नेपालमा समान र गुणस्तरीय शिक्षाको अभियानमा निरन्तर सक्रिय रहँदै आएको छ।










