बुटवल । लुम्बिनी प्रदेश सभाको आज बसेको बैठकले एक महत्त्वपूर्ण विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गतको दसौँ बैठकले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ पारित गरेको हो ।
उक्त विधेयक मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले प्रस्तुत गर्दै छलफलपछि पारित गर्न प्रस्ताव गरेका थिए। सभामुख तुलाराम घर्तीमगरले विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गरे ।
पारित विधेयकले प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनीत पदाधिकारी, सरकारी निकाय तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारीलाई प्रशिक्षण प्रदान गर्ने तथा सङ्घीयता, सुशासन र विकास व्यवस्थापनसँग सम्बन्धित अनुसन्धानलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
यसैगरी बैठकले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ लाई थप अध्ययन र छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउने निर्णय गरेको छ। उक्त प्रस्ताव पनि मन्त्री ढकालले नै प्रस्तुत गरेका थिए ।
बैठकमा प्रदेश सभा सदस्यहरू तुलसीप्रसाद चौधरी, खड्ग बस्नेत, इन्द्रजीत थारु, रामजी घिमिरे, माया पुन, जानकी न्यौपाने, चन्द्रकेश गुप्ता, मिना बुढा, सुधाकर पाण्डे, अम्बिका काफ्ले र वसिउद्दिन खान लगायतले समसामयिक विषयमा धारणा राखेका थिए।
यस क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सिता शर्मा चौधरी र उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।त्यसैगरी, ‘वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि कृषि, वन तथा वातावरण समितिमा पठाइएको छ। उक्त प्रस्ताव वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले प्रस्तुत गरेका थिए।प्रदेश सभाको सातौँ अधिवेशनको आगामी १२ औँ बैठक वैशाख ६ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी गराइएको छ।











