कोहलपुर \कोहलपुरमा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ४५ दिने ड्राइभिङ तालिम सम्पन्न गरिएको छ। पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजना र उत्पीडित सामुदायिक विकास विकास केन्द्रको समन्वयमा आज तालिमको समापन गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारबाट विनियोजित बजेटबाट सञ्चालन भएको तालिममा कोहलपुर नगरपालिकाका १५ वटै वडाबाट २५ जना युवायुवतीको सहभागिता रहेको थिए। समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा क्षेत्र नं.१(२), बाँकेका माननीय एवम् पुर्व वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चाैधरीले आत्मा सम्मान पूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गर्नाका निम्ति समेत आत्म निर्भर बन्न आवश्यक रहेको औल्याए ।
चौधरीले ड्राइभिङ तालिम पश्चात आत्म निर्भर बन्न ड्राइभिङका आधारभूत सरकारी मापदण्ड पुरा गरी सवारी चालक अनुमति पत्र लिदै आत्म निर्भर बन्न आग्रह गरे । उनले सिप बाट समाज रुपान्तरण गर्नाका लागि सबै स्वरोजगारमुखी बन्न आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा पर्यटन डिभिजन कार्यालय कोहलपुरका वरिष्ठ अधिकृत कृष्ण बहादुर विष्टले सीपमूलक तालिमले बेरोजगार युवालाई रोजगारीसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
कोहलपुर नगरपालिकाका आर्थिक शाखा प्रमुख वीर बहादुर विक , प्रशिक्षण कर्ता संस्था बोहोरा ड्राईभिङ सेन्टरका प्रोपाईटर देवीलाल बोहोरा लगाएतले आ आफ्नो धारणा राखेका थिए । ४५ दिने तालिम कार्यक्रम २०८२ साल चैत ०४ गतेदेखि २०८३ बैशाख २१ गतेसम्म संचालन गरिएको थियो ।












