१८ जेष्ठ २०८३, सोमबार

बाँकेमा पानी व्यवस्थापन अभियान सुरु
  • न्युज मानसराेवर

बाँके\बाँकेको नेपालगन्जमा अत्यधिक गर्मीले पानीको अभाव हुँदा चराचुरुङ्गीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्थापन गर्ने उद्देश्यले यहाँका केही युवाहरुले एक अभियान सुरु गरेका छन् ।

बढ्दो गर्मी र खडेरीका कारण पानीका प्राकृतिक स्रोतहरू सुक्दै जाँदा चराचुरुङ्गीहरूको दैनिकी प्रभावित हुन थालेको पाइएपछि उनिहरुका लागि पानीको व्यवस्थापन गर्न एक अभियान सुरु गरिएको वातावरण अभियन्ता हेमन्त राज काफ्लेले बताउनुभयो । उहाँले सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोगमार्फत चराचुरुङ्गीले सहज रूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएको बताउनुभयो ।

प्लास्टिकका ती भाँडाहरूमा पानी भरेर विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने कार्य शुरु गरिएको जनाउँदै स्थानीय जनावर अधिकारकर्मी सुबास साहुले यसबाट पंक्षीहरुलाई पानी खान सहज हुने बताउनुभयो ।

सो अभियानमा सहभागि अर्का युवा अभियन्ता महेश श्रेष्ठले अत्यधिक गर्मीका कारण पानीको अभावमा चराचुरुङ्गीहरू समस्यामा परिरहेको देखेपछि यो अभियान सुरु गरिएको जनाउँदै फालिएका प्लास्टिकका बोतललाई पुनः प्रयोग गरेर वातावरण संरक्षणसँगै जीवजन्तुको जीवन बचाउन सानो प्रयास गरिएको प्रष्ट पार्नुभयो । उहाँले पंक्षीहरुकालागि यस्ता पानीका भाँडाहरू निर्माण र ठाउँठाउँमा व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

नेपालगन्जका स्थानीय बासिन्दाले सो अभियानको स्वागत गर्दै हरेकजसो घर, पसल, कार्यालय तथा सार्वजनिक स्थानमा पानीको सानो व्यवस्था गर्न सके धेरै चराचुरुङ्गी र अन्य जीवजन्तुको जीवन जोगाउन सकिने बताएका छन् ।

नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले जलवायु परिवर्तन र बढ्दो तापक्रमको असरबीच सुरु भएको यो अभियानले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै मानव र प्रकृतिबीचको सहअस्तित्वलाई थप मजबुत बनाउन सकारात्मक सन्देश दिएको बताउनुभयो ।

उहाँले यो अभियानबाट प्रेरणा पाएर अन्य स्थानीयले पनि आआफ्नो तर्फबाट पंक्षी र जनावरका लागि पानीको व्यवस्थापन गर्न शुरु गरेको जनाउनुभयो ।

  • १८ जेष्ठ २०८३, सोमबार प्रकाशित

  • Nabintech