बाँके। नेकपा (माओवादी केन्द्र)बाट महेश्वर गहतराज‘अथक’ले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा पद तथा गोपनीयताको शपथ लिएका छन्। माओवादीमा समन्वयकारी भूमिका निर्वाह गर्दै आएका गहतराज अन्तत: मन्त्री पदमा पुगेका छन्।
समन्वयकारी भूमिका निभाएकै कारण उनले अधिकांश समय जिल्ला इन्चार्जको रुपमा काम गर्ने अवसर पाएका थिए।
द्वन्द्वकाल ०५६ सालमा रुकुम जिल्ला जनसरकार प्रमुख पूर्ण घर्ती हुँदा उनी उपप्रमुख भइ काम गरेका थिए। त्यसपछि क्रमश: रुकुम, जुम्ला, मुगु, हुम्ला, बाँके र बर्दिया जिल्लामा इन्चार्जको भूमिका निर्वाह गरे। माओवादी शान्ति प्रक्रियामा आएपछि बाँके जिल्ला इन्चार्ज भइ काम गरे।
‘जनयुद्धमा राजनीतिक प्रशिक्षण भेला र संगठन निर्माणमै लाग्नुभयो। इमान्दार प्रस्ट विचार राख्ने सबैलाई मिलाएर समन्वय गर्नसक्ने उहाँमा क्षमता छ,’ माओवादी केन्द्रका नेता तिलक परियार भन्छन्, ‘त्यही समन्वयकारी भएकाले उहाँले बाँके जिल्लामा इन्चार्ज भइ लामो समय काम गर्नुभयो। जहाँ ७७ जिल्लाका मान्छे बस्ने भएकाले सबैलाई मिलाउन उहाँले मात्रै सक्ने अवस्था भएकाले लामो समय इन्चार्जको जिम्मेवारी दिइएको थियो।’
उनले द्वद्वमा आफ्ना सहोदार भाइ गुमाएका थिए। उनी मन्त्री भएकोमा सम्पूर्ण दलित समुदायलाई न्याय भएको परियारले बताए। उनी मन्त्री हुँदा कतै विरोध नै नभएको बताउँदै सबै वाँके जिल्लावासी खुसी भएको परियार बताउँछन्। प्रधानमन्त्री शेरबहादुर देउवाको क्याबिनेटमा उनी एक्ला दलित मन्त्री हुन्। उनलाई पार्टीले दलित समुदायको प्रतिनिधित्व गरेर पठाएका छन्। उनीसँगै मन्त्री हुने चर्चामा अन्जना विसंखे पनि थिइन्। तर, अन्तिममा गहतराजले बाजी मारे।
गहतराज २०२८ साल रुकुमको बाफिकोटको एक मध्यम वर्गीय परिवारमा जन्मिएका थिए। बाबु भारतीय लाहुरे भएकाले आर्थिक रुपमा मध्यम वर्गीय परिवारमा हुर्केका थिए। त्यो बेलामा उनले राम्रै शिक्षा लिने अवसर पाए पनि राजनीतिमा लागेपछि प्रवीणत प्रमाणपत्र तहसम्मको अध्ययन मात्रै पूरा गरे। हाल बाँकेको नेपालगञ्ज धम्बोजी चोकमा बस्दै आएका गहतराज क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका उनी गत निर्वाचनमा भने अत्यधिक मत ल्याएर विजयी भएका थिए। पार्टीमा कम अवसर पाएकाले पहिलोपटक सांसद हुँदाबित्तिकै मन्त्री हुने अवसर पाएका छन्। उनी विद्यालय तहमा पढ्दा-पढ्दै राजनीतिमा जोडिएका थिए। ०४५ सालमा अनेरास्ववियु वीरेन्द्र माविको सचिव भएका थिए। ०४८ सालमा अनिल नेपाल युवक संघ रुकुम जिल्ला सदस्य भएर माओवादी ‘जनयुद्ध’मा होमिएपछि भूमिगत भएका थिए। उनी ०५६ सालमा रुकुम जिल्ला जनसरकार उपप्रमुख, ०५७ सालमा रुकुम जिल्ला इन्चार्ज, जुम्ला, मुगु, हुम्ला, बाँके र बर्दिया इन्चार्ज भइ काम गरेका थिए। उनी ०६० सालमा मात्रै पार्टी केन्द्रीय सदस्य भएका थिए। हाल उनी पार्टी केन्द्रीय सदस्य छन्। गहतराजका एक छोरी र एक छोरा छन्।