१३ मंसिर २०८१, बिहीबार

दशैँमा मुटु रोगीले यसकारण बढी सचेत हुनुपर्छ
  • डा. यादव भट्ट

हिन्दू नेपालीले विशेष रुपमा मनाउने चाडपर्वमध्ये दशैँको महत्व अझ ठूलो छ। गएको वर्ष कोरोना संक्रमणका कारण दशैँ सामान्य रुपमा मनाइयो। तर, यो वर्ष दशैँमा निकै उत्साह देखिएको छ।

कोरोनाको संक्रमण दर घटेको कारण पनि दशैँमा रौनकता थपिएको हो। तर, जोखिम भने घटेको छैन।

कोरोना संक्रमणको बढी जोखिममा रहेका समूहमध्ये मुटु रोगी पनि एक हुन्। संक्रमण भएपछि अवस्था गम्भीर हुने र मृत्यु हुने सम्भावना मुटु रोगीमा बढी हुन्छ। अन्य व्यक्तिको तुलनामा कोरोना संक्रमण हुँदा निको हुने सम्भावना पनि कम हुन्छ।

मुटु रोगीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरु कोरोनाको बढी जोखिममा पर्छन्। मुटु रोगीलाई कोरोना संक्रमण भए ज्वरो आउने, फोक्सो बिग्रने, मुटु झनै बिग्रने, हृदयघात हुने, ब्रेनमा स्ट्रोक भएर प्यारालाइसिस हुने, भेन्टिलेटरमा भर्ना गर्नुपर्ने अवस्था आउने सम्भावना धेरै हुन्छ। त्यसैले पनि मुटु रोगी धेरै सतर्क रहनुपर्छ।

धेरै जोखिम हुने भएकाले मुटु रोगीले एकदम सावधानीपूर्वक चाडपर्व मनाउनुपर्छ। सावधानीपूर्वक भनेको अहिलेको सन्दर्भमा अन्य व्यक्तिको सम्पर्कमा नजानु नै हो। मास्क लगाउने र हात बेलाबेलामा सफा गरिरहनुपर्छ। संक्रमण दर घटेको छ भनेर लापरबाही गर्नुहुँदैन।

अहिलेसम्म हामीले दशैँलाई विशेष रुपमा मनाउँदै आएका छौं। मुटु रोगीले यो वर्ष पनि मनाउनु राम्रो हो। त्यसले जोखिम कम गर्छ। घरभित्रै परिवारसँग रमाउँदा संक्रमणबाट जोगिने संभावना धेरै हुन्छ।

यो वर्ष पनि दशैँमा ठूलो जमघट नगर्नु नै सुरक्षित हुन्छ। मुटु रोगीहरुमा त यो मापदण्ड झनै लागू हुन्छ।

मुटु रोगीले कोरोनासँगै खानपानमा पनि ध्यान दिनु आवश्यक छ। धेरै चिल्लो, तारेको र मसालेदार खानेकुराबाट मुटु रोगी टाढै बस्नुपर्छ। ती खानेकुराले बढी अस्वस्थ बनाउँछ। मुटु रोगीलाई त एकदमै असर गर्छ। त्यसैले स्वस्थ खानेकुरामा जोड दिनुपर्छ। (भट्ट मुटु रोग विशेषज्ञ हुन्।

  • २८ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech