बाँके\ नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु वासीका अनुसार सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य प्रभाव देखिइसकेको छ । अहिले सो क्षेत्रमा बादल लागेको छ । सुदूरपश्चिममा बुधबारदेखि पानी पर्न सुरु गर्ने छ ।
आइतबारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।
अस्वाभाविक हो ?
अघिल्लो पटक गत पुस १३ गते पश्चिमी वायुको प्रभाव नेपालमा परेको थियो । त्यसको प्रभाव बिहीबारसम्मै देखिएको थियो । बीचमा केही दिन घाम लागेर अहिले फेरि पश्चिमी वायुको अर्को प्रणाली नेपाल भित्रिएको छ ।
हिउँदयाममा करिब सात–आठ वटा यस्ता प्रणाली नेपाल भित्रिन्छन् । अहिले भित्रिएको नयाँ प्रणाली पाँचौं हो । ‘हिउँदयाममा पानी पर्ने पश्चिमी वायुकै कारण हो ।
नेपालमा मंसिर १५ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । यो हिउँदमा अधिकतम तापक्रम सरदरभन्दा बढी र न्यूनतम तापक्रम सरदर रहने अनुमान छ ।











