बाँके\ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी चिसो अझै केही बढ्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
महाशाखाले भनेको छ, ‘देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन आग्रह गर्दछौं।’
महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिक बदलीको अवस्था छ। साथै प्रदेश नं २ का तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लागेको छ।
महाशाखाले सोमबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
मंगलबार राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। प्रदेश नं १, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ।