४ जेष्ठ २०८२, शनिबार

निर्वाचन कानून संशोधन गरेर जेठमा निर्वाचन गर्ने सत्तारूढ गठबन्धनको निर्णय
  • न्युज मानसराेवर

बाँके\५ दलीय सत्तारुढ गठबन्धनले निर्वाचन कानून संशोधन गरेर जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचन ऐन अनुसार जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन गरेर परिणाम घोषणा गरिसक्नुपर्छ तर गठबन्धनले जेठ महिनाभित्र निर्वाचन गर्ने भनेपछि कानून संशोधन गर्नुपर्ने भएको छ ।

सरकारका प्रवक्ता एवं गठबन्धन बैठकमा सहभागी भएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए ।

निर्वाचन कानून संशोधन गर्नुपर्ने भए त्यसको तयारी गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई निर्देशन दिएको पनि उनले जानकारी दिए ।

चौतर्फी दबाबपछि जेठमा स्थानीय तहको निर्वाचन गर्न गठबन्धन तयार भएको छ । गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू निर्वाचन सार्ने पक्षमा थिए ।

सार्वजनिक रूपमा सिर्जना भएको दबाबका कारण गठबन्धनभित्र रहेका दल जेठमा निर्वाचन गर्न तयार भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत कानूनअनुसार स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएकी थिइन् । भण्डारीले प्रधानमन्त्री देउवालाई पत्र नै दिएर निर्वाचन सम्बन्धी कानून स्मरण गराएकी हुन् ।

गठबन्धनको शनिवारको बैठकमा  निर्वाचनमा गठबन्धन कायम गरेर जाने विषयमा पनि छलफल भएको बैठकमा सहभागी एक नेताले बताए ।

  • १५ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech