बुटवल\ बिहान साढे ९ बजे । लामो समयपछि खुलेको विद्यालय । विद्यार्थीहरू स्कुल जान पाउँदा फुरुङ्ग थिए । रुपन्देही सैनामैना नगरपालिका–६, दूधराक्षकी पुष्पा दाहालले पनि आफ्ना छोराछोरीलाई बिहीवार (फागुन ५) विद्यालय पठाइन् ।
बुद्धनगरस्थित प्रभात बोर्डिङ स्कुलमा पढ्ने छोरा प्रसिद्ध (१२) र छोरी प्रसन्न (९) विद्यालयको लु १ ख ६५८६ बस चढेर गए । तर, विद्यालयका गएका छोराछोरी साँझसम्म घर फर्किएनन् ।
नानीबाबु नफर्किएपछि पुष्पाका श्रीमान प्रेम दाहाल स्कुलमै पुगे । बसका चालक र कर्मचारीले बच्चाहरूलाई अभिभावकले बिहानै बसबाट झारी फोटो खिच्न लिएर गएको भने ।
त्यसपछि प्रेम छाँगाबाट खसेजस्तै भए । बसमा चढेका अरू विद्यार्थीले प्रसिद्ध र प्रसन्नलाई सैनामैना नगरपालिका बस्ने खेमबहादुर पौडेलले बसबाट झारेको बताएपछि उनीहरू अपहरणमा परेको पुष्टि भयो ।
रातिसम्म परिवार र छिमेकीले खोजे तर भेटेनन् । प्रेम शुक्रवार बिहानै इलाका प्रहरी कार्यालय रन्यौरामा आफ्ना छोराछोरी अपहरणमा परेको निवेदन दिए । प्रहरीले विभिन्न युनिटहरू परिचालन गरी खोजतलास गर्ने क्रममा खेमबहादुरले प्रयोग गर्दै आएको मोबाइल अफ थियो । उनको मोबाइल दिउँसो ३ बजेर ४० मिनेटमा बुटवलमै स्वीच अफ भएको पत्ता लाग्यो ।
तर, सोही दिन दिउँसो साढे १२ बजे बुटवलको नेपालगञ्जरोडमा उनका भाइ गुप्तबहादुरले सुटकेस दिएको प्रहरीले सीसीटीभी क्यामेराबाट पत्ता लगायो ।
प्रहरी बसपार्क पुगेर बस काउन्टरमा गएर बुझ्दा खेमबहादुरले बुटवल बसपार्कबाट बिर्तामोड जाने टिकट काटेको भेटियो । त्यसपछि प्रहरीलाई अनुसन्धानमा केही सहज भयो । प्रहरीले विशेष युनिट परिचालन गरी शुक्रवार दिउँसो विर्तामोडबाट ती बालबालिकालाई सकुशल उद्धार गरियो । खेमबहादुर भने पक्राउ परे ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बालबच्चा अपहरण गर्ने खेमबहादुरलाई शनिवार भैरहवामा सार्वजनिक गरेको छ । प्रहरीले खेमबहादुरमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान थालेको छ । रुपन्देही प्रहरी प्रमुख मनोज केसीले बालबालिकालाई परिवारको जिम्मा लगाएको बताए ।
खेमबहादुर बालबालिकाका नाताले फुपाजु पर्छन् । उनीहरूलाई पारिवारिक रिसईबीका कारण अपहरण गरेको प्रहरीको भनाइ छ ।











