बाँके\नेकपा माओवादी केन्द्रले सातै प्रदेश इन्चार्ज तोकेको छ। काठमाडौंमा सोमबार बसेको केन्द्रीय समिति बैठकले सातै प्रदेशका इन्चार्जहरुको टुंगो लगाएको सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी पाएका खगराज भट्टले जानकारी दिए।
माओवादीले प्रदेश १ मा राम कार्की, मधेश प्रदेशमा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको हो।
पुस १७ गते माओवादीले महाधिवेशन सम्पन्न गरेको भए पनि अझै पदाधिकारी टुंगो लगाउन सकेको छैन। सोमबारको बैठकमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रको प्रस्तावित केन्द्रीय सदस्यको नाम पनि विवादित बनेका छन्।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको ९७ जनाको नाममा गम्भीर विवाद भएपछि ५२ जनाको मात्रै नाम थपिएको छ। बाँकी ४७ जनाको भने थप गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ। यदि त्यसमा पनि सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुंग्याउने तयारी माओवादीले गरेको छ।
प्रचण्डले आफ्ना छोरी ज्वाइँसहित ९७ जनाको नाम केन्द्रीय सदस्यका लागि बैठकमा प्रस्ताव गरेका थिए। बैठकमा शशी श्रेष्ठ, नरबहादुर विष्ट, ओम शर्मा, सुदन किराती र रामदीप आचार्यसहित २० जना नेताहरु प्रस्तावित नाममा असहमति राखेको बताइएको छ ।













