२६ असार २०८२, बिहीबार

नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता
  • न्युज मानसराेवर

बाँके\नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।

नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरिएको हो ।

सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौँको हनुमानढोका कुमारी बहालबाट हराएको थियो । यसैगरी १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौँको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो ।

गृह मन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति पुनःप्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो ।

मूर्ति हस्तान्तरण समारोहमा राजदूत आचार्यले बेलायत सरकार तथा प्रहरीलाई नेपाल सरकारको तर्फबाट कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको दूतावासले जनाएको छ । बेलायत प्रहरीका तर्फबाट आफ्नो भनाइ राख्दै डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बरामद गरिएका प्राचीन सामग्री फिर्ता गर्न पाउँदा खुसी लागेको बताए ।

हस्तान्तरण गरिएका मूर्ति चाँडै नै नेपालको पुरातत्व विभाग पठाउने व्यवस्था मिलाइने राजदूत आचार्यले जानकारी गराएको नियोग उपप्रमुख रोशनी खनालले बताए । रासस

  • ५ चैत्र २०७८, शनिबार प्रकाशित

  • Nabintech