१२ मंसिर २०८१, बुधबार

फोहोर व्यवस्थापनमा स्रोत परिचालन
  • न्युज मानसराेवर

देशको राजधानी काठमाडौंलगायत विभिन्न शहरमा डम्पिङ साइटको उचित व्यवस्थापन हुन नसक्दा फोहोरको व्यवस्थापन राष्ट्रिय समस्याका रूपमा देखा परेको छ । ६ ओटै महानगरपालिका, ११ ओटा उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा नै यस्तो समस्या छ ।

फोहोर पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । काठमाडौं उपत्यकाको हाल दैनिक निष्कासन हुने करीब १२०० मेट्रिक टन फोहोर व्यवस्थापन प्रमुख समस्या भएको देखिन्छ । नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोर निष्कासन गर्न थालेको करीब १६ वर्ष पुगिसक्यो । २–३ वर्षका लागि मात्र तयार गरिएको उक्त डम्पिङ साइट २०६२ जेठ २२ देखि प्रयोगमा आएको हो । काठमाडौं, ललितपुर र किर्तिपुरको फोहोर फाल्न भनी बनाएको उक्त डम्पिङ साइटमा हाल १८ ओटा पालिकाको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्ड फिल्ड साइटका रूपमा नुवाकोटको बन्चरे डाँडामा स्यानिटरी ल्यान्ड फिल्ड साइट निर्माण सम्पन्न हँुदै छ । २ वर्षका लागि भनेर बनाएको डम्पिङ साइटमा करीब १६ वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्धले स्थानिय बासिन्दा आक्रान्त हुनु स्वाभाविक नै हो । बन्चरे डाँडामा सिसडोलको जस्तो नभई फोहोर छुट्ट्याएर मात्र राख्ने स्यानिटरी ल्यान्डफिल्ड साइट हुने कुरा प्रकाशमा आएको छ । सिसडोल ल्यान्डफिल्ड साइट बेलाबखत भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा ठूलो चुनौती आउने गरेको छ ।

बन्चरे डाँडा काठमाडौंबाट २७ किलोमीटर उत्तरपश्चिममा पर्छ । स्यानिटरी ल्यान्डफिल्ड साइटले बाहिरी क्षेत्रसहित १ हजार ७ सय रोपनी जग्गा ओगटेको छ । स्यानिटरी ल्यान्डफिल्ड साइट फोहोरको वैज्ञानिक आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको छ ।

यस ल्यान्डफिल्ड साइटले २० वर्षसम्म धान्ने प्राविधिकहरूले वताएका छन् । फोहोरलाई स्रोतमै छुट्ट्याएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोरमात्र ल्याएमा यो ल्यान्डफिल्ड साइट १०० वर्ष फोहोर व्यवस्थापन गर्न सकिने सम्बद्ध पक्षको भनाइ छ । आशा गरौं, बन्चरेडाँडा ल्यान्डफिल्ड साइटबाट महामारीजन्य संक्रमित फोहोरको पनि आवश्यक व्यवस्थापन हुनेछ । यो साइट वातावरणमैत्री हुने कुरा प्रकाशमा आए पनि उचित प्रयोगको आधारमा कति सम्म टिक्ने हो, अहिले किटान गर्न चाहिँ नसकिएला कि ?

नगरवासीले फोहोर आवश्यक पृथकीकरण नगरी फ्याक्ने, फोहोर व्यवस्थापनका लागि स्रोत परिचालन नहुने, नगरका बासिन्दामा फोहोर व्यवस्थापनबारे आफ्नो जिम्मेवारी बोध नभएको, कानूनको उचित कार्यान्वयन हुन नसकेको, दक्ष जनशक्तिको कमी आदि समस्याले फोहोरको व्यवस्थापन राम्ररी हुन सकेको छैन । फोहोर व्यवस्थापन कार्यमा नगरपालिकाको प्रमुख प्राथमिकता परे पनि त्यसअनुसार कार्यान्वयन गर्न सकेको देखिँदैन । फोहोर व्यवस्थापनको दीर्घकालीन योजनाको अभाव छ । फोहोर व्यवस्थापनमा समुदाय र निजीक्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता रहेको पाइन्छ । फोहोर व्यवस्थापनमा आवश्यक मेशिन तथा उपकरणको उचित प्रयोग भएको छैन । यससम्बन्धी तथ्याङ्क र अध्ययनको अभाव छ । यसको नियमित अनुगमन र मूल्याङ्कनको अभाव छ । त्यस्तै, फोहोर व्यवस्थापनमा अन्तरनगरपालिका समन्वयको अभाव छ । फोहोर प्रबन्ध तथा स्रोत परिचालन हुन सकेको छैन । संस्थागत रूपले तालिम तथा विकास हुन नसकेको, फोहोर व्यवस्थापन सेवामा नगरपालिकाहरूको प्रतिबद्धता र प्राथमिकता निर्धारण नभइसकेको, संस्थागत अभ्यास कमजोर रहेकाले पनि फोहोर व्यवस्थापन हुन सकिरहेको छैन । फोहोरलाई स्रोतको रूपमा परिचालन गर्ने दृष्टिकोण तयार नभई खर्बां धनराशी नोक्सानी भएको छ । यी माथिका कारणबाट काठमाडौं उपत्यकालगायत देशका अन्य शहरी क्षेत्रमा फोहोरको व्यवस्थापनमै राष्ट्रिय रूपमा चुनौतीपूर्ण बनेको छ ।

फोहोरको समाधानको सबैभन्दा उत्तम उपाय नगरवासीले फोहोरलाई (कुहिने र नकुहिने छुट्ट्याई पालिकाले भनेको बेलामा) निष्कासन गर्ने, सम्बद्ध निकायले स्थानीय बासिन्दाको आवश्यक मागलाई सम्बोधन गर्नुपर्ने, नगरपालिकाले फोहोर व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी फोहोरबाट मोहोर आर्जन गर्ने दीर्घकालीन योजना बनाई काम गर्नुपर्ने देखिन्छ । नगरपालिकाहरूले आफ्नो संगठन तालिकामा फोहोर व्यवस्थापन शाखाको स्थापना गरी फोहोर व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार पार्नुपर्छ । फोहोर व्यवस्थापनको तथ्याङ्कलाई वैज्ञानिक ढंगले अद्यावधिक गर्दै पूर्वाधारको विकास गर्नुपर्छ । फोहोर व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणाको विकास गर्नुपर्छ । साथै, फोहोर व्यवस्थापनमा निजीक्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्ययोजना बनाउनुपर्छ ।

नगरपालिकाहरूबाट निजीक्षेत्रलाई उपलब्ध गराउने सेवासुविधा स्पष्ट रूपमा उल्लेख हुनुपर्छ । स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोर व्यवस्थापनको सञ्चालन खर्च न्यून गर्न सकिन्छ । फोहोरको वैज्ञानिक व्यवस्थापन गरी त्यसबाट प्रशोधन गरी मल उत्पादन गर्न सके ठूलो धनराशीको बचत हुने देखिन्छ । फोहोर न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्न र नगरपालिकाले उपयुक्त प्रविधि भित्र्याई आवश्यक व्यवस्थापन गर्न नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोर व्यवस्थापनमा योजना तर्जुमा गर्नु आवश्यक छ । उपयुक्त प्रविधिको पहिचान गरी सही रूपले फोहोरबाट मोहोर आर्जन गर्ने नीति लिनु आवश्यक छ ।

नगरपालिकामै ल्यान्डफिल्ड साइटको व्यवस्था गर्ने, पब्लिक प्राइभेट साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजानुपर्छ ।
फोहोर व्यवस्थापनसम्बन्धी विद्यामान कानूनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था नगरेकाले कतै निकायगत जिम्मेवारीमा दोहोरोपना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था छ ।

अतः फोहोर व्यवस्थापनसम्बन्धी काम गर्ने निकाय, संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुनेगरी विद्यमान कानूनहरूलाई परिमार्जन गरिनुपर्छ । प्रांगारिक मल कारखाना खोल्न सके यसको व्यवस्थापन निकै सहज हुन्छ । अतः फोहोर व्यवस्थापनमा स्रोत परिचालनको अति आवश्यक छ । डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech