बाँके\नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज कर्णबहादुर थापाले बुढीगंगा नगरपालिकामा भएको स्थानीय चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, आईजीपी धिरजप्रताप सिंह एकसाथ हारिरहेका टिप्पणी गरेका छन् ।
वैशाख ३० गतेको निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग भएपछि चुनाव स्थगित गरिएको थियो ।
स्थगित चुनाव असार २३ गते सम्पन्न भएको छ । चुनावको पछिल्लो मतपरिणामअनुसार नेकपा एमाले विजयउन्मुख देखिएको छ । सरकारका महान्यायाधिवक्ता खम्बबहादुर खातीका दाइ रंगबहादुर खाती बुढीगंगामा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार छन् । दाइलाई चुनाव जिताउन महान्यायाधिवक्ताले पदीय दुरुपयोग गरेको आरोप छ । बुढीगंगा एमाले नेता थापाको गृहनगर हो ।
गृहनगरमा एमालेले चुनाव जित्ने देखेपछि थापाले फेसबूकमा लेखेका छन्, ‘वैशाख ३० गते भएको निर्वाचनको मतगणना भएको भए रंग खाती र खम्ब खाती मात्रै हार्ने थिए । असार २३ गतेको निर्वाचनको परिणामले कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, आईजीपी धिरजप्रताप सिंह, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश दिपक कार्की एकसाथ हार्दैछन् । शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओलीको संकल्पलाई मार्गदर्शन मान्दै सूर्यमा मतदान गर्ने मेरा आदरणीय नगरवासीमा शिर निहुर्याएर कृतज्ञता व्यक्त गर्दछु । सत्यका विरुद्ध लड्ने मूर्खता नगर्न सबैमा अपिल गर्दछु । विजयी सबैलाई बधाई ! विजयी बन्दै गरेका सबैलाई शुभकामना !’