१० बैशाख २०८२, बुधबार

नेपालगन्जमा रामलीला शुरु हुने
  • न्युज मानसराेवर

बाँके\ कोरोना महामारीका कारण दुई वर्ष रोकिएको ऐतिहासिक रामलीला मञ्चन यस वर्ष नेपालगन्जमा धुमधामका साथ गरिने भएको छ।

नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चनको १५३ र १५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण सार्वजनिक रूपमा स्थगन गरिएको थियो।

विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको रामलीला मञ्चनलाई यस वर्ष भव्यताका साथ गर्ने तयारी भएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको रामलीला भव्य रूपमा मनाउने गरिन्छ। रामलीलामा भारत तथा नेपालका कलाकारहरूले मञ्चन गर्ने गरेका छन्।

यस वर्ष रामलीलाको १५५औँ जयन्ती समारोहमा वृन्दावन धामका ख्यातिप्राप्त राधारमण शर्मा महाराजद्वारा संगीतमय आधुनिक साजसज्जाका साथ लीलाको प्रदर्शन गराइने भएको छ। यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाको भनाइ छ।

रामायणमा आधारित लीला हरेक राति ८ बजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहन्छ।

सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयहरूबीच लोकप्रिय छ। भारतको उत्तरप्रदेशबाट समेत हजारौँ श्रद्धालुहरू रामलीला दर्शनका लागि आउने गरेको रामलीला सञ्चालक समिति सदस्य एवं नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले बताए।

  • ९ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech