कोहलपुर \हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दसैँ। मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महंगीको मारमा परेको छ। अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन। सर्वसाधारणमा उल्लास देखिँदैन। किनमेलमा पनि तडकभडक छैन।
यतिबेला भ्याइँनभ्याइँ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम छ। ‘एक त सबै सामान महंगो भएको छ, अर्कोतर्फ मान्छेसँग पैसा छैन, कोहलपुर नगरपालिका वडा न ११ का मेघराज शर्माले बताए ।
‘अघिल्लो वर्षको तुलनामा आधा व्यापार घटेको छ, अघिल्ला वर्षमा २ कार्टुन खानेतेल किन्ने मान्छेले अहिले एक कार्टुन मात्रै किन्छन्, १० किलो चिउरा किन्नेले ५ किलो मात्रै किन्छन्। यो सबै सबै सामान महंगिएको र पैसा नभएकै कारण हो,’ व्यवसायी मेघराज शर्माले बताए ।
बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको दशैं आर्थिक संकटले झेलिएको छ। कोरोना भाइरस महामारीपछिको पहिलो दशैं उपभोक्तालाई निकै महंगो पर्ने भएको छ। बजारमा दैनिक उपभोग्य वस्तु महंगिँदै जाँदा उपभोक्ता मूल्यबृद्धिको चपेटामा परेका छन्।
चाडपर्वमा अत्यधिक खपत हुने वस्तुको मूल्यवृद्धि भएको छ। दाल, चामल, तेल, लत्ताकपडा, खसीबोकाको मासु तथा च्यांग्राको मूल्य बढेकाले दशैं महंगिएको छ। अधिकांश वस्तु आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमै बढेकाले नेपालमा पनि सोहीअनुसार मूल्य बढेको व्यवसायीहरुको भनाइ रहेको छ ।
सजिलै सामान आयात गर्न नसक्दा साना व्यापारीले पनि लगानी पुर्याउन सकिरहेका छैनन्। उपभोक्ताले पनि त्यो सामान किन्न सक्ने अवस्था छैन। यसले व्यापारीलाई भन्दा पनि बढी मार उपभोक्तालाई नै परेको छ। ‘अधिकांश खाद्यान्नको मूल्य वृद्धि कायमै छ। दैनिक उपभोग्य वस्तु तेल, दाल, चामल, मैदा लगायत खाद्यान्नको मूल्य बढेको छ,’ श्रेष्ठले भने, ‘खाद्यान्नको मूल्य वृद्धि हुँदा उपभोक्ता महंगीको चपेटामा परेका छन्।’ दैनिक उपभोग्य खाद्यान्न तरकारीको मूल्य बढ्नेक्रम कायमै रहेको छ।
आलु, गोलभेडा, काउली लगायत तरकारीको मूल्य बढेको छ। ‘बच्चालाई नयाँ कपडा किनिदिनै पर्यो, पहिलाका दशैंमा जस्तो यसपाली खर्च गर्न सक्ने अवस्था र उत्साह छैन,’ बालबच्चालाई कपडा किन्न लागेकी बैजनाथ गाउँपालिका वडा न ३ निवासी सीता जैसीले भनिन । चुलिँदै गरेको मूल्य वृद्धि रोक्न सरकारको ध्यान पुग्न ढिला गरेको अर्थ विदहरुको बुझाइ रहेको छ ।