८ मंसिर २०८१, शनिबार

‘साइकल प्लांक ब्यालेन्स’ को उपाधि सुशान्त थापालाई
  • न्युज मानसराेवर

कपिलवस्तु\ कपिलवस्तुमा भएको ‘साइकल प्लांक ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन्। शनिबार भएको प्रतियोगितामा उनले १२.३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन्।

पानीमाथि ट्रयाक बनाएर खेलिने खेल लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा भएको थियो। १५० प्रतियोगीबीच भएको खेलमा प्रथम भएका थापाले ५० हजार नगद पुरस्कार प्राप्त गरेको क्लबका अध्यक्ष राम सुभागे थारूले बताए।

प्रतियोगिताको पहिलो चरणमा आठ जनाले दूरी पार गरेका थिए। खेलमा रुपन्देही सैनामैनाका रिजन बन्जाडे द्वितीय भए। उनले २५ हजार प्राप्त गरे भने १५.०७ सेकेन्डको दूरीमा लक्ष्य चुमेका थिए।

कपिलवस्तुका शौरव शर्मा तृतीय हुँदा सुदीप घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका छन्। शर्माले १५ हजार पाएका छन् भने १६.२८ सकेण्डमा दूरी पार गरेका थिए। घिमिरेले स्मार्ट वाच पाएर चित्त बुझाए भने १६.५६ सकेण्डमा लक्ष्य चुमेका थिए।

दोस्रो चरणमा आठ जनाबीच भएको प्रतिस्पर्धामा ६ जनाले दूरी पार गरे पनि दुई जना बीचमै असफल भएका थिए। ६ जनाबीच दूरी पार गरेको समयलाई आधार बनाई विजेता बनाइएको अध्यक्ष थारूले बताए।

वाणग‌ंगा नगरपालिका राजापानीको एक पोखरीमा भएको प्रतियोगिता हेर्न दर्शकको बाक्लो उपस्थिति थियो।

  • १६ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech