१८ बैशाख २०८१, मंगलवार

दुर्गा मूर्तिले बढायाे दसैँको राैनक
  • न्युज मानसराेवर

बाँके\नवदुर्गा पूजाको लागि नेपालगञ्‍ज सहर दुर्गा मूर्तिले झकिझकाउ भएको छ। नेपालगञ्‍जमा दुर्गापूजाका लागि चोकचोकमा मूर्ति निर्माण गरिएका छन्। सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिमा प्रत्येक दिन विहानैदेखि रातिसम्म गरिने पूजा आजा र भजन कीर्तनले दसैँको उमंग बढाएको छ। केही वर्ष पहिलासम्म सहरबजारमा मात्र देखिने दुर्गा मूर्ति अहिले गाउँगाउँसम्म सजाइएका छन्।

दसैँको बेला माटो आदिबाट बनाइएका दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने चलन बढेकोनेपालगञ्‍ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए। दुर्गा मूर्तिमा घटस्थापनाको दिनदेखि राति अवेरसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गर्ने प्रचलन छ।

दुर्गा मूर्ति स्थापना भएपछि मात्रै दसैँको उमंग सुरु हुने गर्दछ । घटस्थापनाका दिन दुर्गा भगवतीको मूर्ति स्थापना गरेर सप्तमीमा उनको आँखाबाट पट्टी खोल्ने काम हुन्छ। महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा छ।

नेपालगञ्‍जमा दसैँको भोलिपल्ट एकादशीको दिन दुर्गा भवानीको मूर्तिलाई राप्ती नदीमा लगेर विसर्जन गरिन्छ। नेपालगञ्जसँगै नरैनापुर, डुडुवा, खजुरा, कोहलपुरका विभिन्न गाउँमा दुर्गापूजाको रौनकता छाएको छ। एकाबिहानैदेखि अबेर रातिसम्म भजन, कीर्तन हुने गरेको छ। घटस्थापनाका दिन दुर्गा भवानीको मूर्ति स्थापना गरेदेखि गल्ली, चोक, मन्दिर, चौराह भजन, कीर्तनमय भएकोनेपालगञ्‍ज उपमहानगरपालिका–९ का अध्यक्ष गोविन्द रेग्मीले बताए।

  • १८ आश्विन २०७९, मंगलवार प्रकाशित

  • Nabintech