काठमाडौँ\मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताए ।
तापक्रम घटेका कारण चिसो महसुस भएको उनले बताए । उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउनेहुँदा चिसो हुने गरेको उल्लेख गरे । तुलनात्मक रूपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनले जानकारी दिए । वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारे । अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने बताए । उनले डिसेम्बर महिनाको शुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने उल्लेख गरे ।
‘विस्तारै गर्मी समय सकिएर जाडोयाम तिर छिर्दैछौँ । मनसुनी वर्षा, गर्मीको समय थियो भने त्यो सकिएर अब हामी पोस्ट मनसुनमा लागेका छौँ । यो गर्मी सकिएको जाडो आउन लागेको अवस्था हो । अहिले नै जाडो पूरै भइसक्यो भन्ने अवस्था त छैन । यद्यपि, मनसुन सकिएदेखि गतहप्तादेखि नै देशभरिको तापक्रम घट्दै गएको छ । रेकर्डेड तथ्यांकले पनि त्यही भन्छ । आज जुम्ला, जोमसोम, जिरीलगायतको क्षेत्रमा एक, जिरो डिग्रीको हाराहारीमा छ रातिको न्यूनतम तापक्रम । जुन जाडो बढाउने तापक्रम हो ।
काठमाडौंमा पनि ११ डिग्रीको हाराहारीमा तापक्रम पुगेको छ, आज बिहानको । त्यसैले तापक्रम घटेर चिसो महसुस भएको हो । यही किसिमले घट्दै घट्दै जान्छ भन्ने त छैन’, पौडेलले भने, ‘कहिलेकाहीँ त्यही रेन्जमा रहने, कहिलेकाहीँ एक, दुई डिग्री बढ्ने पनि त्यस्तो खालको अक्टोबर, नोभेम्बर महिनामा त्यो रहन्छ । जब डिसेम्बर शुरु हुन्छ, त्यसपछि बिस्तारै तापक्रमहरु घट्दै जाने, जाडो हुँदै जाने गर्दछ । यो महिनामा तुरुन्त त्यस्तो पानी पर्ने प्रणाली त छैन । तर बिस्तारै पश्चिमी वायुको प्रभाव रहेको हुनाले, पश्चिमी वायु कहिलेकाहीँ हिमालतिरबाट पनि आइदिन्छ । त्यसले गर्दा चिसो हुने, तापक्रम घट्ने देखिन्छ ।
त्यो भएर यो हप्ता त्यस्तो खालको चिसो देखिएको हो । प्राकृतिक रुपमा भएको हो । पश्चिमबाट हावा चलेको अवस्था छ । त्यो हावा चल्दाखेरी कहिलेकाही उत्तरपश्चिमतिरबाट, हिमालतिरबाट आउँछ । कहिले सिधै पश्चिमबाट आउँछ । कहिले दक्षिणतिरबाट आउँछ । त्यो क्रममा कुनदिन कति जाडो भन्ने कुरा हुन्छ । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै रहने देखिएको छ ।’
पौडेलले मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले विस्तारै जाडो हुँदै जानु स्वभाविक भएको बताए । उनले आगामी एकहप्ता भने वर्षा हुने सम्भावना नरहेको स्पष्ट पारे । जाडो बढ्ने र घट्ने कुरा भने हावाको वहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उनको भनाइ छ । ‘चिसो लगातार घटेको घटेकै गर्दैन । कुनैदिन बादल लागेको अलिअलि चिसो हावा छ, उत्तरपश्चिमबाट हावा बहेको छ भने चिसो महशुस हुन्छ । दक्षिणपश्चिम अथवा हावाको दिशा कता बहन्छ त्यसमा निर्भर गर्ने गर्दछ ।
आकाशमा कत्तिको घाम लाग्छ दिउँसोको समयमा त्यसमा पनि भर पर्ने गर्दछ’, पौडेलले भने, ‘दिउँसो बादल खुला भयो भनेदेखि दिनमा घाम लाग्नसक्यो । तापक्रम बढ्यो भने न्यानो महशुस हुन्छ । दिनप्रतिदिन गर्मी हुने अवस्था छैन । जाडो बिस्तारै हुँदै जाने गर्दछ । माइनसमा आएर कठ्यांग्रिने हुने पनि होइन । क्रमिक रुपमा जाडो क्रमशः बढ्दै जान्छ । वर्षा हुने सम्भावना एकहप्ता यता छैन ।’