१० बैशाख २०८२, बुधबार

यसवर्ष आर्थिक वृद्धिदर ५.८ र मूल्य वृद्धि ६.३ प्रतिशत : विश्व बैंक
  • न्युज मानसराेवर

काठमाडौँ\विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन सोमवार सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ५ दशमलव ८ प्रतिशतले बढ्ने आकलन गरेको हो ।

सन् २०२३ मा ५ दशमलव १ र सन् २०२४ मा ४ दशमलव ९ प्रतिशतले जीडीपी वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।

यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अघिल्लो हप्ता ‘वल्र्ड इकनोमिक आउटलूकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

सन् २०२२ को मुद्रास्फीतिदर ६ दशमलव ३ प्रतिशत रहने आकलन विश्व बैंकको छ । सन् २०२३ मा ५ दशमलव ५ र सन् २०२४ मा ५ दशमलव ३ प्रतिशत मूल्यवृद्धि रहने प्रक्षेपण विश्व बैंकको छ । चालू आव २०७९/८० को बजेटमार्फत सरकारले मूल्य वृद्धिलाई ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

कृषि, उद्योग र सेवा क्षेत्रमध्ये यसवर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने आकलन पनि विश्व बैंकको छ । सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर २ दशमलव ३ प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १० दशमलव २ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५ दशमलव ९ प्रतिशत रहने अनुमान गरिएको छ । सन् २०२३ मा भने यी क्षेत्रको वृद्धिदर क्रमशः २, ८ दशमलव ९ र ५ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

  • १४ कार्तिक २०७९, सोमबार प्रकाशित

  • Nabintech