बाँके / कुनै बेला ठाकुरसिंह थारु नाम चलेका पत्रकारमा गनिन्थे ।
उनले गरिव, असहाय, अशक्त, हेपियका, दवियका समाज र ब्यक्तिको अधिकार तथा उत्थानका लागि थुप्रै समाचार लेखे । र, अधिकार दिलाए । कलममार्फत भ्रष्टाचार विरोधी अभियान चलाए ।नागरिकलाई गुणस्तरिय शिक्षा र निशुल्क तथा प्रभावकारी स्वास्थ्य सेवाका लागि कलम उठाए ।
उनी आवाजविहिनहरुको आवाजलाई राज्यका विभिन्न अंगसम्म पुर्याउने र समस्या समाधानका लागि पुलको काम गरे ।उनको समाचारले धेरै सर्वहारा बर्गको जिवन परिवर्तन भएको छ ।
उनको समाचारले भूमिहिनले भूमि पाएका छन् । असहाय बालबालिकाले शिक्षा लिने अवसर पाएका छन् ।पत्रकारिताको माध्यमबाट उनले अधिकारकर्मी, नागरिक समाज, वकिल, न्यायाधिश, शिक्षक, कृषकको भूमिका निभाएका छन् ।
तिनै पत्रकार ठाकुरसिंह थारु अहिले प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् । कलमले लेखेका कुराले कानून निर्माणमा सहयोगी भूमिका निर्वाह गरे पनि लेख्ने अधिकार नभएकोले उनी अव कानून निर्माण गर्ने ठाउँमा जान चाहेका छन् ।
उनी नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
समाचार रुपान्तरणका लागि राजनीतिमा लागेको उनी बताउँछन् । उनले आदिबासी, जनजाति, दलित, मधेसी, मुस्लिम लगायत राज्यद्वारा पछाडि पारिएका विभिन्न जातजाति र समुदायको अधिकार स्थापित गर्न पत्रकारिता छोडेर राजनीतिमा लागेको उनले बताए ।
‘जातिय पहिचानको मुद्धालाई स्थापित गरि अधिकार सम्पन्न बनाउन राजनीतिमा लागेको छु,’ उनले भने ।
पत्रकारिताको माध्यमबाट राज्यका विभिन्न निकायलाई झकझक्याएका उनी जनताका आवश्यकतालाई परिपूर्ति गर्दै समाज रुपान्तरणका लागि नीति निर्माण तहमा पुग्न जरुरी रहेको उनको बुझाई छ ।
पछाडी पारिएका समुदायको अधिकार लेख्ने काम सांसद बाहेक अरुले सक्दैन । सांसद बन्न राजनीतिमा होमिनु पर्छ,’ उनले भने, ‘अव समाचारबाट होइन, नीति निर्माण गरेर जनताको अधिकार स्थापित गर्ने इच्छा छ ।’
०७२ सालमा टीकापुरमा भएको घटनामा भएको ज्यादतीले थारु समुदाय आक्रान्त भएको उनको बुझाई छ ।
त्यहि घटनापछि थारु समुदायमाथि भएको ज्यादती र अन्यायका विरुद्ध लड्न स्थापना भएको ‘नागरिक उन्मुक्ति पार्टी’ मा लागेका उनले एमालेको भ्रातृ संगठन प्रेस चौतारी नेपालमा लामो समय विताए ।
एमाले बर्दियाको जिल्ला सदस्य समेत रहेका उनी एमालेको नीति र विचारसँग असहमति जनाउँदै नागरिक उन्मुक्ति पार्टीमा लागेको बताए ।
कांग्रेस, एमाले र माओवादी केन्द्रले थारुका मुद्धालाई बेवास्ता मात्र गरेका छैनन् ।थारु समुदायलाई बेवास्ता समेत गर्दै आएका छन् । त्यसैले म एमालेबाट विद्रोह गरेर नागरिक उन्मुक्ति पार्टीमा लागेँ,’ उनले भने ।
उनले एमाले आफ्नो मुख्य प्रतिष्पर्धी नभएको बताए । उनले कांग्रेस उम्मेदवार संजय गौतमसँग आफ्नो प्रतिष्पर्धा भएको जिकिर गरे । ‘बर्दियामा एमाले धेरै पछाडी छ । मेरो मुख्य प्रतिष्पर्धा सत्तागठबन्धन दलका उम्मेदवारसँग हो,’ उनले भने। साभार