२३ पुष २०८१, मंगलवार

राजधानी स्थानान्तरण : स्वागतका लागि तातियो दाङ
  • न्युज मानसराेवर

दाङ \ लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकामा मन्त्रालयहरु स्थानान्तरण हुन सुरु गरेसँगै दाङमा उत्साह छाएको छ । अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालय र सचिवालयका सामाग्रीहरु दाङ सारिएसँगै जिल्लामा उत्साह छाएको हो ।

राजधानी कार्यन्वयनका लागि मुख्यमन्त्रीले थालेको पहल कदमीको प्रशंसा गर्दै बधाईसमेत दिन थालिएको छ, भने राजधानी क्षेत्रमा रहेका पालिकाहरुले राजधानी कार्यन्वयनका लागि सचिवालय गठन गरेर काम सुरु गरेका छन् ।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको संयोजकत्वमा गढवा, राजपुर गाउँपालिका, लमही नगरपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिका पदाधिकारी, राजधानी क्षेत्रका नागरिक समाज, उद्योग वाणिज्य संघ, होटल व्यवसायी समिति, यातायात प्रालि, सञ्चारकर्मी लगायतको प्रत्यक्ष सहभागिता रहने गरी राजधानी व्यवस्थापनका लागि संयुक्त पहल थालिएको छ ।

मूल समितिका साथै स्वागत सत्कार, सरसफाई तथा सौन्दर्यकरण, घरभाडा समन्वय र आर्थिक तथा आपूर्ति व्यवस्थापन उपसमिति गठन गरेर अभियानात्मकरुपमा राजधानी व्यवस्थापनको काम थालिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताए ।

  • २१ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech