२३ पुष २०८१, मंगलवार

बेचबिखन माध्यम बन्यो टिकटक !
  • न्युज मानसराेवर

बाँके\मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग हुन थालेको छ।  विशेष गरी किशोर अवस्थाका युवतीहरू टिकटकका माध्यमबाट अपरिचित व्यक्तिहरूको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका हुन।   यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका छ जनालाई माइती नेपाल बाँकेको टोलीले जमुनाह नाकामा फेला पारी परिवारको सम्पर्कमा पु-याएको छ।

माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले टिकटकको माध्यमबाट चिनजान भएकै आधारमा घर छोडेका १२ जना युवती बेचबिखनको जोखिममा परेको भन्दै परिवारले खोजतलासका लागि माइती नेपालको नेपालगञ्जस्थित कार्यालयमा निवेदन दिएका छन्।

“पछिल्लो समय अधिकांश व्यक्तिले टिकटक चलाउने गरेका छन् तर प्रविधिको दुरुपयोग भई जोखिमका घटना पनि हुन थालेका छन,” माइती नेपालका संयोजक कोइरालाले भने , “टिकटकबाट सम्बन्ध विस्तार गरी घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको छ।”

माइती नेपालले सन् २०२२ मा जोखिमपूर्ण यात्रामा रहेका ५२९ जनालाई जमुनाह नाकाबाट उद्धार गरेको जनाएको छ। श्रम र यौन शोषणमा परेका १० जनाको उद्धार गरिएको छ। तीमध्ये नौ जना भारतबाट र एक जना खाडी मुलुकबाट उद्धार गरिएको हो। खोजतलासका ६९३ निवेदन परेकोमा २४९ मात्रै फेला परेका छन्।

माइती नेपालका अनुसार २० वर्षको अवधिमा सात हजार ५७२ जना हराएको निवेदन परेकोमा एक हजार ६३८ जना मात्रै फेला परेका छन्। भारत तथा खाडी मुलुकमा उद्धारका लागि सरकारी स्तरको प्रभावकारी संयन्त्र नभएका कारण जोखिममा रहेकाको उद्धारमा कठिनाइ हुँदै आएको माइती नेपालले जनाएको छ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech