११ बैशाख २०८२, बिहीबार

२८० हजार टन तेलहन बाली उत्पादन
  • न्युज मानसराेवर

बाँके\नेपालमा वर्षेनि २ लाख ८० हजार मेट्रिक टन हाराहारी तेलहन बाली उत्पादन हुने गरेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७७/७८ मा मुलुकभर २ लाख ५९ हजार १ सय हेक्टर जमीनमा तेलहन बालीको खेती गरिएको थियो । त्यसबाट २ लाख ८७ हजार ३८ मेट्रिक टन तेलहन बाली उत्पादन भएको हो ।

मन्त्रालयको तथ्यांकमा तोरी, सस्र्यु, रायो, सूर्यमुखी, बदाम र झुसेतिलसहितका तेलहन बालीको तथ्यांक समावेश गरिएको छ । पछिल्लो ३ आवको तथ्यांक हेर्दा सबैभन्दा बढी उत्पादन आव २०७७/७८ मा भएको देखिन्छ ।

त्यसअघि आव २०७६/७७ मा २ लाख ५८ हजार १ सय ४१ हेक्टर जमीनमा तेलहन बालीको खेती थियो । त्यसबाट २ लाख ७८ हजार ३ सय २५ मेट्रिक टन तेलहन बाली उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।त्यसैगरी आव २०७५/७६ मा २ लाख ६० हजार ३ सय हेक्टर जमीनको खेतीबाट २ लाख ८० हजार ५ सय ३० मेट्रिक टन उत्पादन भएको तथ्यांक छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार नेपालमा उत्पादन हुने तेलहन बालीमध्ये उत्पादन तथा क्षेत्रफलका हिसाबले सबैभन्दा बढी तोरी छ । कुल तेलहन बाली उत्पादनमा तोरीको अंश ७७ प्रतिशत रहेकाले यो पहिलो स्थानमा छ । त्यसैगरी झुसेतिलले तेलहन बालीको १ प्रतिशत अंश मात्रै ओगट्ने भएकाले अन्तिम स्थानमा छ ।

नेपालमै यस्ता तेलहन बाली उत्पादनको उच्च सम्भावना हुँदाहुँदै स्वदेशी आवश्यकता धान्न वर्षेनि विदेशबाट ठूलो परिमाणमा खानेतेल आयात बढेको तथ्यांकले देखाएको छ । तेलहन बाली हिउँदमा लगाइने भएकाले उक्त समयमा सिँचाइको समस्यालगायत मल र उच्च प्रतिफल दिने बीउको अभावमा अझै पनि किसानले ठूलो स्केलमा तेलहन बालीको खेती गर्न नसकेको उनले बताए ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech