बाँके\बाँकेको कोहलपुर–१३, खड्कवारका ५५ वर्षीय गोपाल ओलीले दूध बेचेर मात्रै मासिक ७५ हजार रुपियाँ आम्दानी गर्ने गरेका छन। विगत दुई वर्षदेखि व्यावसायिक गाईपालनमा सक्रिय रहेका ओलीले सबै खर्च कटाएर दूध बेचेर मासिक ७५ हजार बचत गरिरहेको बताएका छन। किसान ओलीका अनुसार दैनिक साँझ बिहान गरेर ५० लिटर दूध उत्पादन हुने गरेको छ ।
आफूले उत्पादन गरेको सबै दूध डेरीमार्फत बजारमा बिक्री गर्ने गरेको उनले बताए । दूध उत्पादनबाट मासिक ७५ हजार रुपियाँ चोखो कमाइ हुने गरेको ओलीको भनाइ छ । “जीविकोपार्जनका लागि व्यवसाय गरिरहेको छु । सङ्घर्ष गरे फल मिठो हुन्छ ।
कमाइ पनि राम्रो हुँदोरहेछ भन्ने प्रमाणित गर्न पाएर खुसी छु,” उनले भने ।ओलीले सुरुमा भैँसीपालन गरे पनि अहिले गाईपालन गरिरहेका छन। उनले कृष्टि पशुपालन फार्मबाट व्यवसाय गर्दै आउनुभएको छ । ओलीको फार्ममा अहिले आठवटा दुहुना गाई छन् ।
होलिस्टेन क्रस र जर्सी क्रस गाईबाच्छाले उनको फार्म भरिएको छ । पशुपालन व्यवसायबाट मनग्गे आम्दानी हुने गरेको जनाउँदै यसबाट स्वदेशमै विदेशको भन्दा बढी आम्दानी गर्न सकिने उनको विश्वास छ। ओलीको बुढेसकालको सहारा उनको पशुपालन व्यवसाय बनेको छ । युवा अवस्थामा ओलीले घरको आवश्यकता पूर्ति गर्नका लागि कालापहाड जानुपर्यो । घरको आर्थिक अवस्था कमजोर रहेकाले कमाउनका लागि कालापहाड जानुपरेको ओलीको भनाइ छ ।
व्यवसायका लागि ओलीले सुरुमा कृषि विकास बैङ्कमा जग्गा धितो राखेर १५ लाख रुपियाँ ऋण दिए । चारवटा गाई र गोठ बनाउन १५ लाख खर्च भयो । उनले भने , “दुईवटा दुहुना गाई भारतबाट र दुईवटा नेपालमै किनेको थिएँ ।” अहिले व्यवसाय राम्रो रहेको र प्रतिलिटर ६५ रुपियाँमा दूध बेच्दै आएको ओलीले बताउनुभयो । गाईका लागि उहाँले १० कट्ठा क्षेत्रफल जग्गामा बर्सिम घाँस उत्पादन पनि गरिरहनुभएको छ ।