बाँके\बाँकेको बैजनाथ गाउँपालिका –८ हस्नापुरका टिके दमाई उमेरले ७१ बर्ष गरेका छन। सानैदेखि पञ्चेबाजा तथा नौमती बाजामा रुची राख्ने दमाईसहित २३ जनाको समूहले परम्परागत बाजागाजाको संरक्षण गर्दैआएको छ ।
पहिलो पुस्ता शारीरिक रुपमा कमजोर हुन थालेपछि अहिले यो समुहको अगुवाई टिकेका छोरा ४० बर्षीय हस्तले गर्दै आएका छन।
सिम्ताली एकता बाजा समुह नामकरण गरी संयुक्तरुपमा बाजा बजाउँदै आएको यो समूहले साविक मध्यपश्चिम हाल कर्णाली अञ्चलका सुर्खेत, सल्यान, रुकुम, जाजरकोटलगायतका जिल्लामा बढी प्रचलित रहेको यो बाजालाई बाँके, बर्दियालगायत तराईका जिल्लामा नयाँ पुस्तालाई बाजा बजाउने सीप हस्तान्तरण गर्न खोजिएको छ ।
समूहका अगुवा ७१ बर्षीय टिके दमाईले भन्छन , “हाम्रो पुस्ताले पहाडतिरबाट ल्याएको यो सँस्कृतिलाई छोरा पुस्तालाई सिकाएर पुर्खाको नासोलाई निरन्तरता दिने सोच बनाएका छौं ।”
बाँके, बर्दियामा विहेको सिजनमा आमन्त्रण गरिएका सबै घरमा पुग्न नसकिने भन्दै अगुवा दमाईले यसबाट आफुहरुको घर व्यवहार चल्नुका साथै पुख्र्यौली सँस्कृतिलाई जीवन्तता दिन सकिएकोमा खुशी लागेको उल्लेख गरे ।
बुवाको आग्रहका आधारमा समूहको अगुवाई गरेका हस्तले आफुहरुले पुख्र्यौली सँस्कृतिलाई अघि बढाउन र नयाँ पुस्तामा चिनाउन जिम्मेवारी वहन गरेको बताए । सँस्कृति जोगाउनलाई कुनै जाति विशेषभन्दा पनि सबै जातजातिले उत्तिकै अपनत्व लिनुपर्ने भनाइ छ ।
पुख्र्यौली सँस्कृतिलाई जगेर्ना गर्ने उद्देश्य भए पनि स्थानीयलगायत अन्य निकायबाट यसको निरन्तरताका लागि सहयोग नपाएको समूहका सदस्यहरुको गुनासो रहेको छ ।













