११ मंसिर २०८१, मंगलवार

लुम्बिनी प्रदेश सरकार अझै अपूर्ण
  • न्युज मानसराेवर

बाँके \लुम्बिनी प्रदेशमा नयाँ सरकार बनेको दुई महिनाभन्दा बढी हुँदासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । जसले गर्दा काम कारवाही प्रभावकारी हुन सकेका छैन ।बजेट पारित गरेसँगै मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार विस्तारको गृहकार्यमा जुटेका छन् ।

हाल तीन वटा मन्त्रालय खाली रहेकाले मुख्यमन्त्री चौधरी सरकार विस्तारको तयारीमा जुटेका हुन् ।अर्थमन्त्री धनबहादुर मास्कीले खाली रहेका मन्त्रालयहरूमा दलहरूबीच सहमति गरेर मन्त्री नियुक्त गर्ने तयारी भइरहेको बताए ।

लुम्बिनी प्रदेशमा खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ । यी मन्त्रालयहरू हाल मुख्यमन्त्री चौधरी आफैंले सम्हाल्दै आएका छन् ।

मन्त्री मास्कीले सत्ता साझेदार दलसँग छलफल गरेर सरकारलाई पूर्णता दिने बताए ।साना दलको भागबन्डा अनुसार प्रतिनिधित्व भइसकेका कारण अब कांग्रेस र माओवादी केन्द्रबाट बाँकी रहेका मन्त्रालयमा मन्त्री नियुक्त हुने बताइएको छ ।

वैशाखमा सरकार गठन गर्दा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ४ र माओवादीले अर्थमन्त्रीसहित ३ मन्त्री पाउने सहमति भएको थियो ।

लुम्बिनी प्रदेशमा अहिले नेपाली कांग्रेसले मुख्यमन्त्री र स्वास्थ्य मन्त्रालय, माओवादीले अर्थ मन्त्रालय, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गृह मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा)ले कृषि तथा भूमि सुधार मन्त्रालय र जनमत पार्टीले सामाजिक विकास मन्त्रालय पाएका छन् ।

एमाले नेता लिला गिरी नेतृत्वको सरकार अल्पमतमा परेर ढलेसँगै चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

  • २३ असार २०८०, शनिबार प्रकाशित

  • Nabintech