बाँके\ नेकपा (एमाले) लुम्बिनी प्रदेश सङ्गठन कमिटीको आयोजनामा भएको लुम्बिनी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम आइतबार समापन भएको छ । भेलाले पन्ध्रबुँदे घोषणापत्र जारी गरेको छ ।
भेलाको अन्तिममा घोषणापत्र वाचन गर्दै एमाले नेता खिमलाल भट्टराईले सङ्घीयतालाई बलियो बनाउने गरी पार्टीबाट निर्वाचित जनप्रतिनिधिले भूमिका खेल्न आवश्यक रहेको बताएका छन।
पारित घोषणापत्रमा वडाको आर्थिक अधिकार बढाउन लागिपर्ने, देश र जनताको हितका लागि बढीभन्दा बढी केन्द्रित हुने, निर्वाचनमा गरिएका वाचा र घोषणापत्रप्रति प्रतिबद्ध हुने, जनसरोकारका सवालमा प्रतिबद्ध हुने उल्लेख छ ।
यसैगरी महिला प्रमुख र उपप्रमुख रहेको स्थानीय तहमा कुनै पनि खालको विभेद हुन नदिने र महिलालाई कार्यकारी पदमा प्रोत्साहन गरिनुपर्ने उल्लेख छ । यसैगरी निर्वाचन प्रणालीमा सुधार गरी गरिब जनताका सन्तान पनि जनप्रतिनिधि बन्न सक्ने बनाउन पहल गरिने, भ्रष्टाचार अन्त्यका लागि पहल गरिनेलगायतका विषय समेटिएको छ ।
पार्टी उपाध्यक्ष विष्णु पौडेलले एमालेविरुद्ध जतिसुकै भ्रम फिँजाइए पनि जनताको विश्वास र भरोसा जित्न सकेको पार्टी एमाले मात्रै भएको दाबी समेत गरे। उनले एमालेबाट निर्वाचित जनप्रतिनिधि र अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिमा व्यवहार र कर्मबाट पहिचान हुनुपर्ने बताए ।
यसैगरी महासचिव शङ्कर पोखरेलले सङ्घीय सरकारले गरिरहेको विभिन्न गलत निर्णयको भण्डाफोर गर्नु आजको आवश्यकता भएको बताएका छन। महासचिवले सरकारका गलत निर्णयको भण्डाफोर गर्न समेत नेता कार्यकर्ताहरुलाई निर्देशन गरेका छन। पार्टीबाट निर्वाचित जनप्रतिनिधिको भूमिकाले आगामी निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै जनताको अधिकतम हितमा काम गर्न समेत निर्देशन दिएका छन।
लुम्बिनी प्रदेशका १२ जिल्लामा एमालेबाट निर्वाचित, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यको सहभागिता रहेको कार्यक्रमको शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।