बाँके\लुम्बिनी प्रदेश सरकारले चार महिनासम्म पनि अझै पूर्णता पाएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० वटा मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा तीन वटा मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्हालिरहेका छन् ।
खानेपानी, ग्रामीण तथा सहकारी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मुख्यमन्त्री चौधरीले सम्हालिरहेका छन् । गत वैशाख १४ मा चौधरी मुख्यमन्त्री नियुक्त हुँदा कांग्रेसले मुख्यमन्त्रीसहित चार मन्त्रालय, माओवादीले तीन मन्त्रालय लिने र अन्य तीन मन्त्रालय साना दललाई दिने सहमति भएको थियो ।
माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले सरकार विस्तारमा कांग्रेसकै कारण रोकिएको बताए । मन्त्रालय बाँडफाँड गर्दा माओवादीको भागमा परेका तीन मन्त्रालय परेका छन् । त्यसमा धनबहादुर मास्की मन्त्रीमा पठाइसकेको र अब दुई जना दिपेन्द्रकुमार पुन मगर र कृष्ण केसीलाई सिफारिस गरिएको थारुले बताए । ‘हाम्रोबाट सबै तयार छ,’ उनले भने, ‘कांग्रेसभित्र भागबण्डा नमिलेर रोकिएको होला । कांग्रेस र माओवादीको केन्द्रीय समितिको बैठक बसेका छन, यो सकिएपछि मन्त्रीपरिषद् विस्तार हुन सक्छ ।’
कांग्रेस संसदीय दल सचेतक निमा गिरीले मन्त्रिपरिषद् विस्तार र मन्त्री पठाउने विषयमा अझै कुनै टुंगो नलागेको बताइन् । साना दल जसपा, लोसपा, जनमत पाटी र नागरिक उन्मुक्ती पाटीले एक–एकवटा मन्त्रालय लिएपछि कांग्रेस र माओवादीबीच कुरा मिलेको छैन । अहिले कांग्रेसबाट मुख्यमन्त्रीसहित दुई र माओवादीबाट एक जना मन्त्री छन् ।