३ माघ २०८१, बिहीबार

कांग्रेस निर्णयको सन्देश
  • बेनीबहादुर कार्की

नेपाली कांग्रेसको विधान अनुसार हरेक २ महिनामा हुनुपर्ने केन्द्रीय समितिको बैठक एक वर्षपछि साउन २ गतेदेखि एकसाता चलेर सम्पन्न भएको छ । कांग्रेसले इतिहासमा पहिलो पटक प्रत्यक्ष प्रसारण गरिएको यो बैठकमा पदाधिकारीसमेत सबै सदस्यको विचार सर्वसाधारणले सिधै सुन्ने अवसर पाए । जुनसुकै उद्देश्यले गरिएको भए पनि सबैभन्दा लामो राजनीतिक इतिहास बोकेको प्रजातन्त्रको जननी कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको यो कामलाई सबैले सकारात्मक रूपमा लिएका छन् । बैठकको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गराएर महामन्त्री गगन थापाको अग्रगामी कदमलाई इँटाको जवाफ पथ्थरले दिएको भन्ने अर्थमा पनि लिइएको छ । सहभागीसमेत सबैले आउने दिनमा पनि यसले निरन्तरता पाउने हो, होइन भनेर बैठकमै प्रश्न गरेका छन् । यो सकारात्मक थालनीलाई निरन्तरता दिन सके कांग्रेसको उज्ज्वल भविष्यका लागि राम्रो हुने छ ।

१० वटा प्रस्तावलाई छलफलको विषय बनाइएको यो बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभएको लिखित प्रतिवेदनको आधारमा छलफल गरिएको भए पनि भुटानी शरणार्थीलाई नेपाली बनाएर अमेरिका पठाउने भ्रष्टाचार मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशमा थुनामा रहेका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमै केन्द्रित भयो । अदालतको आदेशबाट खाणसहित १६ जना पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेकाले कांग्रेसले अहिलेसम्म कमाएको साख जोगाउन उहाँलाई दलबाट निलम्बन गर्नुपर्ने रायसमेतको प्रतिवेदन पेस भए पनि सो विषयमा भने कांग्रेस बैठक अनिर्णयको बन्दी बनेको छ । यो प्रकरणले कांग्रेसको भ्रष्टाचारविरोधी छवि पण्डितले पुस्तकको प्याज खान नहुने भने जस्तो भएको छ ।

जे भए पनि महामन्त्रीको चातुर्यपूर्ण प्रस्तुति र सभापति देउवाले बैठकमा देखाएको धैर्यताको भने सबैले प्रशंसा गरेका छन् । चौधौं महाधिवेशनको समयका पदाधिकारी र इतर पक्षको एकता र प्रस्तुति भने कमजोर देखिएको छ । यसरी हेर्दा यो बैठक विविध विषयले रोचक भएको छ । जे, जसको कारणले यो बैठक र निर्णय भए पनि आगामी असोजमा अर्को केन्द्रीय समितिको बैठक बोलाउने, नीति महाधिवेशन नभए पनि कांग्रेसको सर्वोच्च निकाय महासमितिको बैठक मङ्सिरमा गर्ने, अधुरा रहेका विभाग तत्काल पूरा गर्ने प्रशिक्षण र आमजनता र कार्यकर्तामा जनचेतना जगाउन सभा, भेला र प्र्रशिक्षण कार्यक्रम परिचालन गर्नेसमेतको घोषणा यो बैठकका महत्वपूर्ण उपलब्धि हुन् । योभन्दा पनि महत्वपूर्ण उपलब्धि भनेको विधानको पालना गरेर समयमै विधानले तोकेका काम गर्नु पर्छ भन्ने चेतना सभापतिदेखि कांग्रेसका नेता तथा कार्यकर्तामा ल्याउनु हो ।

अब आउने दिनमा विधानको अनिवार्य पालना गर्नुपर्ने दिशाबोध यो बैठकले गरेको छ । यसअघि विधानको परिपालना नगरी सभापति देउवाले दुवै महामन्त्रीसमेतले पत्रिकाको समाचार पढेर कांग्रेसले गरेको निर्णय थाहा पाउनुपर्ने अवस्थाको अन्त्य भए मात्र पनि यो बैठकले गरेका निर्णय कांग्रेसकै हितमा हुने छ । यसो हुनु भनेकै कांग्रेस एक हुनुको अर्थ कांग्रेस शक्तिशाली र जनताको विश्वास जित्ने बाटोमा अग्रसर हुनु हो । यसो भएमा सभापति देउवा र समग्रमा कांग्रेसकै इज्जत बढ्नेमा दुईमत हुँदैन । यही भएकाले फरक मत भएर पनि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैठकमा पटक, पटक सभापतिलाई पितातुल्य भनेर सम्बोधन गरेको हुनु पर्छ । यसरी सम्बोधन गर्नु सभ्यता र अनुशासनको द्योतक हो । कांग्रेसका सबैले बुझ्नैपर्ने कुरो के हो भने व्यक्ति र पद भनेको गौण हो । सबैभन्दा महत्वपूर्ण भनेको दल र सिद्धान्त हो । धेरैले पद पाएर पनि इज्जत गुमाएका हुन्छन् र कतिपयले पद नै नपाएर पनि इज्जत कमाएका दृष्टान्त पनि छन् ।

संसारबाट सबै मानिसले आखिर शरीर नै छाडेर जानै पर्छ भने पद र पैसाको त के कुरा । यी त संसार र शरीर बुझ्नेका लागि क्षणिक र गौण कुरा हुन् । कांग्रेसका अधिकांश नेता र कार्यकर्ताले सिक्नुपर्ने यही हो । यसको थालनी भर्खरै सम्पन्न बैठकबाट भएको छ ।

संसारकै ध्रुव सत्य के हो भने कोही पनि पूर्ण नहुने भएकाले मानिस जीवनभरि सिकिरहेको हुन्छ । यो आधारमा कांग्रेस सभापति देउवासमेत पनि पूर्ण नहुन सक्नुहुन्छ । यस अर्थमा उहाँले पनि सिक्नु र समयको पदचाप बुझेर सँगै हिँड्नु पर्छ । समयमा बैठक भएन, विधान अनुसार समयमै बैठक र काम हुनु पर्छ भनेर सबैले भनेका छन् । यो भनेको सभ्य तरिकाले गाली गरेकै रूपमा बुझ्दा सबैलाई सुध्रन सजिलो हुन्छ । यस अर्थमा कांग्रेसजनले आत्मसमीक्षा गरेर सुध्रिनु मुलुककै लामो र प्रजातान्त्रिक इतिहास बोकेको दलको नाताले सबैको हितमा हुन्छ ।

पाँच पटक प्रधानमन्त्री भइसक्नुभएका सभापति देउवाले सबै पक्षलाई मिलाएर अघि बढ्न सके कांग्रेसका लागि सुनमा सुगन्ध हुने छ । महामन्त्री थापासमेतबाट बैठकमा सभापति देउवालाई आएका धारणा सुझाव यिनै हुन् । जुन कुरा स्वीकारेमा सभापति स्वयम्को उत्तरार्ध सम्मानजनक र सुरक्षित हुने छ । उहाँले पद त सबै पाइसक्नु भएकै छ । अब पाउनुपर्ने एक मात्र सम्मान त हो नि । सभापति भनेको विधानले नै नदिएकाले अब म लड्दिन भनिसक्नु भएकै छ ।

नेतृत्व परिवर्तन वा विश्राम त सभापति देउवाले नै रोजेर सार्वजनिक रूपमै घोषणा गरिसक्नु भएको विषय हो । अनि महामन्त्री थापा वा कसैले नेतृत्व परिवर्तनको कुरा गरे भनेर टाउको दुखाउनुपर्ने विषय नै भएन । आफूले सभापति छोड्ने नै भएपछि शेखर कोइराला वा गगन भए के फरक ? उहाँहरू हिजो कुनै न कुनै रूपमा विरोधमै हुनुहुन्थ्यो । भोलि दुवै मिल्न सक्नुहुन्छ । जो महामन्त्री गगन थापाले भनिसक्नुभएको छ । यसो भएकाले केही फरक छैन । कसैले कसैसँग रातोमुख नलगाए हुन्छ । सबै मिलेर कांग्रेसको भविष्य उज्ज्वल बनाउनेतिर लाग्नु उत्तम हुने छ ।

जहाँसम्म नेता खाणको निलम्बनको विषय छ, अब कांग्रेसले केही गर्नु र नगर्नुको कुनै अर्थ छैन । संसारले बुझ्ने कुरा बुझिसके । कुन कारणले यो अड्किएको हो दुनियाँका लागि अब यो पनि बुझ्न बाँकी रहेन । निलम्बन भनेको निष्कासन होइन । यो त केवल भ्रष्टाचारको विरोधमा कांग्रेसको साख बचाउने विषय मात्र हो । जे गर्नु त उहाँ स्वयम् र अदालतले गरिसक्यो । निलम्बन गरे वा नगरेमा अदालतको निर्णयमा कुनै फरक पर्ने होइन । अदालतको निर्णय अन्तिम हुने भएकाले हामी सबैले मानेकै छौँ । यो निर्णय जे जस्तो आए पनि मान्नै पर्छ । यसमा कांग्रेस पहिले वा अब जति उफ्रे पनि कुनै फरक पर्ने लक्षण देखिँदैन ।

  • २१ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech