तिम्रो घरखेत बन्धकी कस्ले राख्नु भनेको थियो?
तिमीलाई अब्बल नतिजा कसले ल्याउनु भनेको थियो?
लाखौँलाई रोजगारी सृजना गर्न कसले भनेको थियो?
तिमीलाई सरकारको काम गर्न कसले भनेको थियो?
अर्बौंको राजस्व तिर्न कसले भनेको थियो?
यतै राम्रो गरेर मित्र रास्ट्रका बिद्यालय बिगार्ने?
रातदिन देशमै बसी शिक्षाको स्तर उकास्ने?
म सरकार हुँ,
बङ्लादेशमा चिकित्सा पढ्नेहरू पठाउनु छ
मित्रराष्ट्रहरूसँग सम्बन्धको मधुरता बढाउनु छ
प्राइभेटमा पढेकाहरू
अमेरिका, युरोप अष्ट्रेलियातिर जान थाले
टाढा भयो, मैले दुरीको बारेमा सोच्नुपर्छ
पचासै डिग्री होस्, खाडीतिर कोच्नुपर्छ,
मैले दार्जीलिङ, ग्यान्टोक, नैनितालतिर
पुनः नेपाली केटाकेटी पठाउनु छ,
त्यतातिरका बिद्यालय राजारानीले पढेको हुन
सबै केटाकेटीहरूलाई राजकीय सम्मान चढाउनु छ।
शिक्षालाई सहजै अन्तर्राष्ट्रियकरण गर्नुछ ।
नर्सिङ पढाउने, स्नातक पढाउनेहरूले
हावा खाइसके ।
अब तिमीहरूलाई पनि त्यै बाटो देखाउनु छु
मुला मास्टर!
उहिले बिदेशतिर पलायन भै सक्नुपर्ने तिमी
जान्ने भएर स्कुल खोलेर बसेका रहेछौ।
म सरकार हुँ
मैले चलाएका बिद्यालयहरूलाई उचाई दिन सकिन
अब तिमीलाई निमट्यान्न पार्नुछ,
मैले समता भावमा जगाउनु छ,
अनि पो हामी सबै एक हुनेछौँ।