१२ मंसिर २०८१, बुधबार

बाँकेमा घरपालुवा पशुमाथि दैनिक आक्रमण
  • न्युज मानसराेवर

बाँके\बाँके राष्ट्रिय निकुञ्जको नजिकै रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका केही बस्तीमा केही दिनदेखि पाटेबाघले आतङ्क मच्चाएको छ ।  स्थानीय मीन सेजुवालका अनुसार पाटेबाघले राप्तीसोनारी–२ मदुईका स्थानीय बासिन्दाका घरपालुवा पशुमाथि दैनिकजसो आक्रमण गरी मारेर खाइदिने तथा घाइते बनाएर छाड्ने गरेको छ ।

सेजुवालका अनुसार असोज ४ गते दिउँसो जङ्गलमा बस्तुभाउ चराउन लगेका बेला गोठालाको नजिकैबाट मदुईका जीतबहादुर थारुको एउटा भेडा, ५ गते चङ्खुराम थारुको एउटा बोका लगेर खाइदिएको थियो । पाटेबाघले असोज ६ गते स्थानीय दिलबहादुर थारुको गाई, ७ गते ठगुवा थारुको भैँसी र ८ गते चङ्खुराम थारुकै एउटा भैँसीलाई चराउन लगेका बेला आक्रमण गरी घाइते बनाएको छ ।

त्यसैगरी ८ गते नै राति अन्दाजी साढे १० बजेको समयमा धनीराम थारुको गोठमै पसी एउटा गोरुको रगत पिएर सख्त घाइते बनाएको सेजुवालले जानकारी दिएका छन। बाघले गोरुलाई आक्रमण गरेको थाहा पाएपछि स्थानीय मिलेर बाघ भगाउन हल्ला गर्दा स्थानीयलाई नै बाघले आक्रमण गर्न खोजेको उनले बताए ।

दैनिकजसो पाटेबाघले घरपालुवा पशुमाथि आक्रमण गरी घाइते बनाएपछि स्थानीय त्रसित बनेका छन् । पशुचौपायामाथि आक्रमण गर्दैआएको बाघले मानिसमाथि पनि आक्रमण गर्ने होकि भनेर स्थानीय त्रसित छन् । बाँके राष्ट्रिय निकुञ्ज नजिकै भएका कारण निकुञ्जभित्रकै बाघ हुनसक्ने स्थानीयले बताएका छन् । स्थानीयले पाटेबाघबाट आफ्नो जीउधन तथा पशुचौपायाको सुरक्षा माग गर्दै समशेरगञ्ज सबडिभिजन वन कार्यालयलाई जानकारी गराएको मीन सेजुवालले बताएका छन।

राप्तीसोनारी–२ मदुईमा पर्ने अशोक सामुदायिक वन उपभोक्ता समूह र मधु सामुदायिक वन उपभोक्ता समुहबीचमा रहेको खयरघारीमा बाघ लुकेर बस्नेगरेको र स्थानीयका घरपालुवा जनावरलाई आक्रमण गर्नेगरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार उक्त जङ्गल मानव बस्तीबाट ५० मिटर मात्र दूरीमा छ ।

राप्तीसोनारी गाउँपालिका २ कार्यालयले मङ्गलवार एक सूचना जारी गर्दै वडाको मदुवा टोल र मदुई टोलको बीचमा विगत केही दिनदेखि पाटेबाघ देखिंदैआएको र स्थानीयले पालेका घरपालुवा जनावरलाई आक्रमण गरी घाइते बनाएकाले जङ्गल छेउँछाउँमा घरगोठ भएका स्थानीय बासिन्दालाई बाघको आक्रमणबाट सावधानी अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी वडा कार्यालयले पाटेबाघको आक्रमणबाट घाइते बनेका पशुचौपायाको उपचारका लागि कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन श्यामकुमार शाह र राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलबीच छलफल भई तत्काल आवश्यक पहलकदमी लिई समस्याको समाधान गर्ने निर्णय भएको राप्तीसोनारी गाउँपालिका प्रवक्ता मिनराज खड्काले जानकारी गराएका छन।

  • ९ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech