बाँके\विश्व हुलाक दिवसको अवसरमा सोमबार जिल्ला हुलाक कार्यालय बाँकेले विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ ।कार्यालयमा सेवाग्राहीलाई स्वागत, वृक्षरोपण तथा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मानलगायतका कार्यक्रम गरी दिवस मनाइएको कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डेले जानकारी दिएका छन ।
कार्यालयमा प्रथम आउने दुई जना सेवाग्राहीलाई अबिर खादासहित स्वागत गरिएको तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीलगायत हुलाकका कर्मचारीले जिल्ला हुलाक कार्यालयको परिसरमा आँप, लिची, अम्बा, जामुनका साथै विभिन्न प्रकारका फूलहरू रोपिएको प्रमुख पाण्डेले जानकारी दिए ।
कार्यक्रममा समन्वय समिति प्रमुख चौधरीले हुलाकलाई आधुनिकीकरण गर्नुपर्ने र अतिरिक्त हुलाकका कर्मचारीलाई उचित सेवा सुविधा दिनुपर्ने बताए । बाँकेका प्रजिअ विपिन आचार्यले संसारभरका दुई सयभन्दा बढी देश सदस्य रहेको विश्व हुलाक सङ्गठन भरपर्दो निकाय भएको उल्लेख गरेका छन।
अतिरिक्त हुलाक सङ्घ बाँकेका सचिव जयपाल मौर्यले अतिरिक्त हुलाक खारेज नगरेर यसलाई थप काम दिएर सञ्चालन गर्नुपर्ने बताए । हुलाक कार्यालय प्रमुख पाण्डेले नेपाल सरकारले हुलाकलाई पुनर्संरचना गर्ने नीति लिएको जानकारी गराए ।
हाल हवाई द्रुत सेवा सञ्चालन गरेको, सञ्चार गृह तथा सञ्चारकर्मीसम्बन्धी दर्ता नवीकरण, लोककल्याणकारी विज्ञापन व्यवस्थापन, राहदानी ढुवानीलगायतका कामको सुरुवात गरेको उनले बताए । आगामी दिनमा इकमर्स, बिमा सेवाका साथै होम कलेक्सन र डेलीभरीको काम समेत गरेर अघि बढ्ने योजना रहेको प्रमुख पाण्डेले उल्लेख गरेका छन।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी तथा बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्ला हुलाक कार्यालय बाँके र मातहतमा रहेर उत्कृष्ट काम गर्ने खरिदार क्लेशकुमार मौर्य, हल्कारा मन बस्नेत, हुलाकी महेशकुमार यादव, बनकटवाका हुलाक प्रतिनिधि इन्द्रा आचार्य, नौवस्ताका पत्र वितरक तथा कम्दीका पत्र वितरक विष्णुप्रसाद कुर्मीलाई माला खादासहित सम्मानपत्र प्रदानगरेका थिए ।











