८ मंसिर २०८१, शनिबार

बाँकेमा पहिलो प्रदेशस्तरीय स्विमिङ प्रतियोगिता आयोजना गरिँदै
  • न्युज मानसराेवर

बाँके\ नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको देशकै दोस्रो सबैभन्दा ठुलो पौडी पोखरीमा पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय स्विमिङ प्रतियोगिता आयोजना गरिने भएको छ । निर्माण भएको चार वर्षपछि सो पौडी पोखरीमा पहिलो पटक कुनै प्रतियोगिता हुन लागेको हो ।

२०७६ सालमा नेपालगन्जमा सम्पन्न भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १५ करोडको लागतमा निर्माण गरिएको पौडीपोखरी पूर्णरुपमा तयार नहुँदा त्यति बेला स्विमिङका खेलहरू काठमाडौँमा गरिएका थिए ।स्विमिङ खेलको विकास र प्रवर्द्धनका लागि हालै मात्र गठन गरिएको नेपालगन्ज स्विमिङ क्लबले कात्तिक २५ गते सो प्रतियोगिता आयोजना गर्ने क्लबका अध्यक्ष केशवराज न्यौपानेले बिहीबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा बताए ।

प्रतियोगितामा ८, १०, १२, १४ र १५ वर्ष उमेरका अतिरिक्त खुल्ला समूहमा बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका ५६ जना खेलाडीको सहभागिता रहने उनले भनेका छन। आठदेखि १० वर्ष उमेर समूहका खेलाडीले २५ मिटरको दूरीमा प्रतिस्पर्धा गर्ने छन् भने अन्य खेलाडीले ५० मिटरको दूरीमा प्रतिस्पर्धा गर्नेछन् । खुल्लामा भने बटरफ्लाई र फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटनका लागि नेपाल पौडी सङ्घका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्य, महासचिव जगतमान श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय भट्टराई नेपालगन्ज आउने कार्यक्रम रहेको क्लबले जनाएको छ ।

नेपालगन्जमा चारवटा वाटरपार्क, एक दर्जन बढी तारे होटल र रङ्गशालामा ठुला पौडी पोखरीहरू रहेको र यहाँ नौ महिनासम्म पौडी खेलाउन सकिने हुँदा पौडी खेलाडी उत्पादनका लागि यो सहर अति नै उपयुक्त रहेको नेपालगन्ज स्विमिङ क्लबका उपाध्यक्ष डा. नितेष कुमार कनोडियाले बताए।

क्लबले आगामी वैशाखमा नेपालगन्जमा राष्ट्रिय स्विमिङ प्रतियोगिता गर्ने र त्यसको केही महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने योजना बनाइरहेको क्लबका अध्यक्ष न्यौपानेले भनेका छन। सो अवसरमा क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारी, कोषाध्यक्ष ऋषिराम कँडेल, स्विमिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी र हाल प्रशिक्षक चन्द्रराम चौधरीले पनि पौडी खेलबारे आफ्नो भनाई राखेका थिए ।

  • २३ कार्तिक २०८०, बिहीबार प्रकाशित

  • Nabintech