११ मंसिर २०८१, मंगलवार

सञ्चारकर्मी थारु नागरिक उन्मुक्ति पार्टीको महासचिव सम्मको यात्रा
  • न्युज मानसराेवर

बाँके\ठाकुरसिंह थारु अहिले ४९ वर्ष पुगेका छन।  साबिकको मैनापोखर गाविस वडा नं. ३, बढैया (हाल बढैयाताल गाउँपालिका वडा नं. ५ मा वि.सं. २०३१ साल भदौ १४ गते बुवा भिखु थारु र आमा सीतारानी थारुको कोखबाट थारुको  जन्म भएको थियो ।

गत पुस २६, २७ र २८ गते कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनबाट थारु पार्टीको केन्द्रीय महासचिव पदमा निर्वाचित भए । त्यसअघि थारु पत्रकारिता तथा पार्टी राजनीतिमा धेरै वर्षसम्म बाँकेमा क्रियाशील रहे ।

२०४९ सालमा शारदा माध्यमिक विद्यालय मैनापोखर बर्दियाबाट एसएलसी पास गर्नुभएका थारु उच्च शिक्षा अध्ययनका लागि त्यसपछि बाँकेको नेपालगन्ज आएका थिए । नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट आईएल र बिएल अध्ययन सकेपछि २०५६ सालदेखि अधिवक्ता बनी कानुन व्यवसायी बन्नुभयो । साथसाथै पत्रकारिता पेसामा पनि संलग्न रहे ।

२०५६ सालबाट तत्कालीन अवस्थामा नेपालगन्जबाट प्रकाशित हुने दैनिक पत्रिका नेपालगन्ज एक्सप्रेसबाट पत्रकारिता जीवन सुरु गर्नुभएका थारुले हाम्रो संरचना, मध्यपश्चिम सन्देश हुँदै काठमाडौँबाट प्रकाशित हुने पत्रिका नयाँ पत्रिकामा काम गर्न सुरु गरे । ५–६ वर्ष नेपालगन्जबाट नयाँ पत्रिकामा काम गरेपछि उनले २०७० सालतिर कान्तिपुर दैनिक पत्रिकामा नेपालगन्जलाई कार्यक्षेत्र बनाएर काम गर्न सुरु गरेका थिए ।

कान्तिपुर दैनिकमा ०७९ सालसम्म उनले काम गरे । कान्तिपुरमा उपसम्पादकसम्मको जिम्मा थारुले पाएका थिए । पत्रकारितासँगै उनले नेकपा एमालेको पार्टी राजनीतिसँग जोडिएर विभिन्न जन वर्गीय सङ्गठनमा आबद्ध भई काम समेत गरेका थिए । एमालेको बाँके जिल्ला प्रचार विभाग सदस्यसँगै २०६१ सालमा उनले एमाले निकट पत्रकारको सङ्गठन प्रेस चौतारी नेपालको उपाध्यक्ष भएर काम समेत काम गरे ।

यस क्रममा उहाँ प्रेस चौतारीका तर्फबाट निर्वाचन लडेर पत्रकार महासङ्घ बाँकेको अध्यक्ष बनेका थिए । यस क्रममा प्रेस चौतारीको केन्द्रीय सदस्यसम्म बन्नुभएका थारु २०६५ सालमा पुनरावेदन बार एसोसिएसन केन्द्रीय समितिको निर्वाचनमा एमालेका तर्फबाट प्रगतिशील प्यानलबाट एक्लो सदस्य पदमा निर्वाचित भएका थिए ।

२०७९ सालको सङ्घीय र प्रदेश निर्वाचनका समयमा थारुले आफ्नो पार्टी सदस्यता बर्दिया सारे र बर्दियामा पार्टीको जिल्ला सदस्यसहित प्रचार विभाग प्रमुखको समेत जिम्मेवारी निर्वाह गरे । तत्कालीन पार्टी एमालेसँग केही मतभिन्नता राख्दै उक्त निर्वाचनको मुखमा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थारु लगत्तै सो पार्टीको क्रियाशील सदस्यदेखि केन्द्रीय सदस्यसम्म बनेका थिए ।

२०७९ सालको सङ्घीय तथा प्रदेश निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले थारुलाई बर्दिया निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि टिकट दियो । उनी उक्त निर्वाचनमा होमिए । थारुले सो निर्वाचन जित्न त सकेनन तर २३ हजार ९९२ मत प्राप्त गरी उल्लेख्य मत भने बटुलेका थिए । निर्वाचनमा थारु पराजितभए । उनीसँग प्रतिस्पर्धामा उत्रिएका नेपाली काँग्रेसका तर्फबाट सत्ता गठबन्धनबाट उम्मेदवार बनेका पूर्व सिँचाइ मन्त्रीसमेत रहेका सञ्जय गौतमले ३० हजार ६११ मत प्राप्त गरी विजयी भए ।

गत पुस २६, २७ र २८ गते कैलालीमा सम्पन्न नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा ६१ जिल्लाका ८ हजार ५ सय सहभागी प्रतिनिधिमध्येबाट थारु पार्टीको महत्त्वपूर्ण पद महासचिव पदमा निर्वाचित भएका छन। साभार

  • ३ माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech