सुर्खेत:सुर्खेतको वीरेन्द्रनगरमा १४ वर्षीया एक बालिका बुवासँगै घरमा बस्छिन । वीरेन्द्रनगरकाे एक विद्यालयमा कक्षा आठमा पढ्छिन । जन्मदिने आमाको मृत्यु भएपछि बुवाले अर्को विवाह गरे । कान्छी (सौतेनी) आमा माइत जानुभएको थियो । घरमा कोही नभएको मौका छोपेर आफू बिरामी भएको बहाना गरेर बुबाले शरीरमा तेल लगाउन पठाए । साँच्चिकै बुवालाई गाह्राे भएको छ की ? भन्दै तेल लगाइदिइन । तर, यौन पिपासु बुबाले धारिलो हतियार देखाउँदै कोठा बन्द गरी ०८० असार २९ गते बलात्कार गरे । बुवाबाट बलात्कृत भएपछि बेसहारा भएकी बालिकालाई छिमेकीको सहयोगमा प्रहरीमा लगियो । बुवा विरुद्ध असार ३० गते उजुरी परेपछि प्रहरीले तत्काल गिरफ्तार गरेर अनुसन्धान अगाडी बढायो । अहिले बुबा पूर्पक्षका लागि कारागारमा छन् ।
त्यो घटनाले अहिलेसम्म पनि आफ्नो मनमस्तिष्कले काम गर्न नसकेको पीडित बालिका बताउछिन । ‘बुबाले बिरामी भए । तेल लगाइदेऊ भनेपछि मैले निको होला भनेर लगाइदिएँ । तर, उहाँले मलाई चक्कु देखाउँदै एक्कासी बलात्कार गर्नुभयो । रातभर कोठामा थुनेर बलात्कार गर्नुभयो,’ ती बालिकाले भनिन, ‘अब दुई जना भएर बसौं । तिम्रो शरीरका अङ्ग कति राम्रो भन्दै उहाँले मलाई यातना दिइरहनु भयो । आफ्नो रक्षक गर्ने बुवा नै भक्षक भएपछि कसको विश्वास मान्नु र ? ।’
यो घटनापछि आत्महत्या गर्ने योजना बनाएपनि छिमेकी काकीले सम्झाएपछि आफूले नयाँ जीवन पाएको उनको भनाइ छ । गत असोज २७ गते पश्चिम सुर्खेतकी अर्की १५ वर्षीया बालिका पनि बुबाबाटै घरभित्र बलात्कारको घटनाबाट पीडित भइन । बाबुबाट बहिनी बलात्कृत भएको थाहा पाएपछि दाईले कात्तिक १५ गते प्रहरीमा उजुरी दिए । बलात्कारको घटना बाहिर ल्याउन उजुरी दिने १८ वर्षीय छोराको माघ १ गते राति उनै बुबाले निमर्मतापूर्वक हत्या गरे । हत्या गरेर भारततिर फरार हुन लागेका उनलाई प्रहरीले माघ ३ गते कैलालीको टिकापुरबाट गिरफ्तार गरेर अनुसन्धान गरिरहेको छ । बालिकाकी जन्मदिने आमाले अर्को विवाह गरेपछि बुवाले पनि दोस्रो विवाह गरेका थिए । ती बालिका मामाघरमा बसेर कक्षा ९ पढ्दै हुनुहुन्थ्यो । भारतबाट फर्किएका बाबुले २७ असोजमा बालिकालाई भेट्न बोलाए । खुसीले बाबु भेट्न पुगेकी उल्टै बाबुबाटै बलात्कृत भइन । आफू बलात्कृत भएको घटना सुनाउँदा कान्छी आमाले समेत उक्त घटना लुकाउन सुझाव दिनुभयो ।
यही घटनाका कारण आफ्नो दाई गुमाउनुपर्ने अवस्था आएको पीडित बालिका बताउनुहुन्छ । ‘आमाले अछामतिर दोस्रो विवाह गरेर गएपछि मामाघर बसेर नौ कक्षा पढ्दै थिए । बुवासँग त सानैमा टाढिएकी थिएँ । अनुहार समेत मलाई याद थिएन । भारतबाट आएर भेट्न बोलाएपछि खुसीले भेट्न आएँ,’ ती बालिकाले भनिन, ‘उहाँले मलाई कोही नभएको बेला बलात्कार गर्नुभयो । त्यहि कुराको विरोध गर्दा दाईको समेत ज्यान गयो । अहिले त केटा मान्छे देख्दा पनि मलाई साहै्र डर लाग्छ । कसैको विश्वास लाग्दैन ।’
समाजमा यस्ता घटना किन हुन्छन ?
यस्ता घटना हुनुमा मुख्य कारण पारिवारिक बेमेल र सामाजिक बिचलन रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मणबहादुर शाहीले बताउनुहुन्छ । ‘प्रहरीमा आएका घटनालाई मात्रै हेर्दा करिब ९५ प्रतिशत घटना पारिवारिक विचलनले भएको पाइएको छ । त्यो सँगै सूचना प्रविधिको दुरुपयोग र लागूऔषध पनि मानिन्छ,’ प्रवक्ता शाहीले भन्नुभयोे, ‘पारिवारिक सामिप्यता, स्नेह र कर्तव्यबोध नहुँदा यस्ता घटना हुन्छन् ।’उहाँका अनुसार आमाले अर्को विवाह गरेर गएको, छोराछोरीबीच बुबाआमाको घुलमिल नभइ एक्कासी भेट भएका जस्ता क्रियाकलापबाट घटनाहरू भएको भेटिन्छ । हिंसाको ज्ञान नहुनु, आफन्तबाटै ढाकछोप गर्नु लगायतका कारण प्रहरीमा यस्ता घटना ढिलो आउने गरेको उहाँको भनाइ छ ।
हाडनाताकरणीका मुद्दाको मुख्य कारण भनेको पारिवारिक अवस्था नै रहेको प्रदेश अस्पताल, सुर्खेतको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) की मनोपरामर्शकर्ता गिता केसीले बताउनुभयो ।
‘बुबा आमाको झगडा हुन्छ । आमा माइत जान्छिन् । अनि घरमा छोरी बलात्कार बन्छिन् । कोही बालिका वा महिलाको मानसिक अवस्था कमजोर हुन्छ । त्यसको फाइदा घरकै सदस्यले उठाउँछन्,’ मनोपरामर्शकर्ता केसीले भन्नुभयो, ‘बाजे, बुबा, काका, दाई, देवरबाट प्रायजसो बलात्कृत भएको पाइन्छ ।’
एकद्धार सङ्कट व्यवस्थापन केन्द्रमार्फत त्यस्ता पीडितलाई उपचार गर्ने, काउन्सिलिङ्ग गर्ने, कानुनी उपचारमा सहयोग, गाँस, बास र कपासको समेत व्यवस्थापन गर्दै आएको उहाँले बताउनुभयो । पछिल्लो समयमा आफन्तबाटै बालिका र महिला बलात्कारको सिकार बनेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो ।
कर्णालीका १० जिल्लामा सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म आठ बालिका बुबाबाटै बलात्कृत भएका छन् भने दुई जना काकाबाट बलात्कृत भएको इन्सेकको तथ्याङ्क छ । इन्सेकको तथ्याङ्क अनुसार कर्णालीमा सबैभन्दा बढी सल्यानमा पाँच जना, सुर्खेतमा दुई र दैलेखमा तीन जना बालिका तथा महिला घरपरिवारबाट बलात्कारको घटनामा परेका छन् । जसमध्ये सात जना बालिका रहेका छन भने तीन जना युवती तथा महिला रहेको इन्सेकका प्रदेश संयोजक सुवेदीले जानकारी दिनु भयो ।
‘पीडितहरू परिवार र समुदायको डर र धम्कीका कारण यस्ता घटना बाहिर ल्याउँदैनन्,’ उहाँले भन्नुभयोे, ‘यस्ता विषयमा कानुनी सचेतना जगाउन जरुरी छ । पीडकलाई कानुन बमोजिम कारबाही गरेर यस्ता घटना बाहिर ल्याउनुपर्ने हरेक नागरिकको कर्तव्य हो ।’ समाजमा आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका पीडितका लागि इन्सेकले सहयोग गर्ने संयोजक सुवेदीले जानकारी दिनु भयो । इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत आर्थिक अवस्था कमजोर भएका पीडितलाई कानुनी प्रकृयामा जान सहयोग गर्दै आएको छ ।
कर्णाली प्रदेश प्रहरीको तथ्याङ्क अनुसार कर्णालीमा पछिल्ला पाँच वर्षमा हाडनाता करणीका ६८ घटना प्रहरीसम्म पुगेका छन् । त्यसमध्ये आफ्नै बुवाबाट २३ जना, दाजुभाईबाट १३ जना बालिका र किशोरी बलात्कृत भएका छन् । यो सहित हाडनाताकरणीका ६८ ओटा उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन् ।