नेपालगञ्ज: नवौं डाँफे कप नकआउट फुटबल प्रतियोगिताको उपाधि न्यु दर्पण युवा स्पार्ट्स क्लवले उचालेको छ । बाँकेको खजुरा-४ डी-गाउँस्थित मिनी रङ्गशालामा भएको रोमाञ्चक फाइनल खेलमा न्यु दर्पणले बाग्मती स्पोर्ट्स क्लबलाई हराउँदै उपाधि चुमेको हो ।
मध्यान्तरसम्म न्यु दर्पण र बाग्मतीले गोल गर्न सकेका थिएनन् । खेलमा दोस्रो हाफको २६औं मिनेटमा न्यु दर्पणका जर्सी नम्बर १० का खेलाडी धनसिंह बिकले पहिलो गोल गर्दै खाता खोलेका थिए । तर, त्यो अग्रता भने धेरै बेरसम्म कायम हुन सकेन । दोस्रो हाफको ३५औं मिनेटमा बाग्मतीका जर्सी नम्बर ११ का श्याम ब्यादीले गोल फर्काउँदै खेललाई बराबरीमा रोकेका थिए । त्यसपछिका खेलमा दुबै क्लवका पटक-पटकको गोल गर्ने प्रयास असफल भएपछि प्रतियोगिता ट्राइवेकरमा पुगेको थियो । ट्राइवेकरमा न्यु दर्पणले ७ गोल प्रहार गर्दा बाग्मती स्पार्ट्स क्लव भने ६ गोलमा चित्त बुझाउन बाध्य बनेको थियो ।
प्रतियोगिताको उपाधि चुमेको न्यु दर्पणले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । खेलको उपविजेता बाग्मतीले ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । विजेता टिमलाई खजुरा गाउँपालिकाकी उप प्रमुख मञ्जु मल्ल चन्दले नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे । प्रथम पुरस्कार राशी लिल बहादुर थापाले सौजन्य गरेका हुन् भने दोस्रो पुरस्कार प्रतिक निर्माण सेवाले सौजन्य गरेको खेल संयोजक तिलकबीर सुनारले जानकारी दिए ।
प्रतियोगिताको समापन समारोहमा खजुरा क्षेत्रबाट राष्ट्रिय खेलकुदमा पदक जित्न सफल ८ जना पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । प्रथम पुरस्कार सौजन्य गर्ने खजुरा गाउँपालिका ४ डी गाउँ स्थायी घर भएका हाल अमेरिकामा रहने लिल बहादुर थापालाई विशेष सम्मान प्रदान गरिएको थियो । त्यस्तै दोस्रो पुरस्कार सौजन्य गर्ने तिलक विक सिहालीलाई पनि विशेष सम्मान गरिएको न्यु डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष हरि प्रकाश विकले जानकारी दिए । प्रतियोगितामा १४ टिमले भाग लिएका थिए ।