नेपालगन्ज:बाँकेको खजुरामा प्रथम सहिद क्याप्टेन लखन थापा मगरको सालिक उद्घाटन गरिएको छ । सहिद लखन थापाको १ सय ४७औं स्मृती दिवसको अवसर पारेर बुधबार खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक र उपाध्यक्ष मन्जु मल्लले सालिकको उद्घाटन गर्नु भएको हो । खजुरा गाउँपालिका वडा नम्बर १ ले निर्माण गरेको सालिक बुधबार एक कार्यक्रम गरेर उद्घाटन गरिएको छ ।
सालिक निर्माणमा वडा अध्यक्ष मनवीर क्षेत्र र नेपाल मगर संघका पदाधिकारीहरुले सक्रिय भएर काम गर्नु भएको थियो । सालिक निर्माण कार्य सम्पन्न गर्न करिब ११ लाख रुपैयाँ खर्च भएको छ । त्यसमा खजुरा गाउँपालिकाले ७ लाख ७७ हजार ४ सय ४९ रुपैयाँ सहयोग गरेको छ । सालिकको निर्माण गरेका राष्ट्रिय मुर्तीकार महेन्द्र पुनले करिब ३ लाख रुपैयाँ बराबरको व्यक्तिगत रुपमा श्रमदान गर्नु भएको थियो । अन्य अपुग रकम स्थानीय स्तरमा व्यवस्थापन गरिएको वडा अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
मुर्तीकार पुनका अनुसार सैनिकमा निर्माण गरिएको लखन थापाको सालिक ‘रेजिन फाइबर मोनोक्रम’बाट बनेको छ । सालिकको निर्माण एससी निर्माण सेवा आलिताल-३ डडेल्धुराले गरेको हो । नेपालका प्रथम सहिद लखन थापाको जन्म वि.सं. १८९१ सालमा गोर्खा जिल्लाको वुङकोट काहुलेमा भएको थियो । उहाँ वि.सं. १९३३ फागुन २ गते गोर्खा जिल्लाको वुङकोट काहुलेमा सहिद हुनु भएको थियो । २०५५ सालमा खजुराको सैनिकमा लखन थापा चोक भनेर नामाकरण गरिएको थियो । तर चोकमा लखन थापाको सालिक भने थिएन ।
प्रथम सहिदको सम्मान र वडावासीको भावना अनुसार वडामा प्रथम सहिदको सालिक निर्माण गरिएको वडा अध्यक्ष क्षेत्रीले बताउनु भयो । उहाँले भन्नु भयो,‘राणाकालिन समयमा जनताको स्वतन्त्रणको लागि उहाँले दिनु भएको वलिदान हाम्रो लागि अमुल्य छ । यहाँ जनताले प्रथम सहिदको सम्मानमा २०५५ सालदेखि नै लखन चोक भनेर नामकरण गर्नु भएको थियो ।
तर चोकमा सालिक थिएन । मैले निर्वाचनको समयमा चोकमा सालिक निर्माण गर्छु भनेर प्रतिवद्धता व्यक्त गरेको थिए । त्यो पुरा गरेको छु ।’ सालिक निर्माणमा स्थानीय भवन सिंह थापा, उजर सिंह थापा लगायत वडावासीले निकै मिहिनेत गरेको वडा अध्यक्ष क्षेत्रीले बताउनु भयो ।