११ मंसिर २०८१, मंगलवार

प्रेस युनियनद्वारा कांग्रेस महासमिति बैठक बहिष्कार
  • न्युज मानसराेवर

काठमाडौं: सोमबारबाट ललितपुरको गोदावरीमा शुरु भएको नेपाली कांग्रेसको महाधिवेशनमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले संस्थागत सहभागिता जनाउन अस्वीकार गरेको छ ।

सोमबार दिउसो युनियनका अध्यक्ष शिव लम्सालले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको केन्द्रीयनिर्वाचन समितिले विधानको अपब्याख्या गरी प्रतिनिधि चयनको निर्णय गरेको भन्दै संस्थागत सहभागिता नजनाउने बताउनुभएको हो ।

‘कांग्रेसको महासमिति बैठकका सन्दर्भमा प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरुमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत प्रर्वाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनधिकृत निर्णय गरिएको निर्णयप्रति युनियनको गम्भीर आपत्ति छ । लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप हामीलाई कदापि स्वकार्य छैन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको अपब्याख्या गरी गरेको निर्णयले प्रेस युनियन र कांग्रेसविचको शुभेच्छुक सम्बन्धलाई विथोल्न चाहनेहरुलाई बल पुगेको छ, ’अध्यक्ष लम्सालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन समितिको अक्षमता र विधानको गलतब्याख्या गरी गरिएको निर्णयप्रति घोर भत्सर्ना जनाउँदै यथास्थितिमा महासमिति बैठकमा युनियनको संस्थागत उपस्थिति नहुने युनियनको विज्ञप्तिमा उल्लेख छ ।

साथै अलोकतान्त्रिक निर्णयविरुद्ध गोलबद्ध हुन र युनियनको गरिमामाथि गरिएको प्रहारको यथोचित प्रतिवाद गर्न पनि युनियनले आब्हान गरेको छ ।

  • ७ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech