सुर्खेत: जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ गैरी चोकमा गोली प्रहार गर्नेहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार सार्वजनिक गरेको हो ।
पकाउ पर्नेहरुमा कैलालीको गौरीगंगा नगरपालिका २ का १८ वर्षीय ईन्द्र बिक, १८ वर्षीय भरतपुरली भुल, वीरेन्द्रनगर नगरपालिका ४ का ३७ वर्षीय राजन गिरी र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत रहेका छन् ।घटनामा संलग्न थप दुई जना फरार छन् । उनीहरुको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।
प्रहरीका गोली प्रहार गर्ने योजनाअनुरुप गिरीबाहेक तीन जना फागुन ७ गते वीरेन्द्रनगर नगरपालिका ४ स्थित गणेश होटेलमा बास बसेका थिए । फरार दुई व्यक्तिले भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई पूर्वयोजनाअनुसार नेपालगञ्जदेखि सुर्खेत आएर गणेश होटलमा ३ जना सँगै बसेका थिए ।
एक जना शशंकित व्यक्तिले प्रतिवादीहरुलाई विनोद गिरीको घर ठेगानालगायत सबै देखाइ चिनाइदिएको तथा होटलमा खाने व्यवस्था मिलाएको प्रहरीले बताएको छ ।
गएराति विनोद गिरीको गाडीलाई प्रतिवादीहरुको मोटरसाइकलले पिछा गरी वीरेन्द्रनगर नगरपालिका १ स्थित गैरीचोकमा उनीमाथि १ राउण्ड गोली प्रहार गरेपश्चात उक्त गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
गोली प्रहार गर्ने भारतीय नागरिक राजपूत, मोटरसाइकल चालक विक, भुल र होटलमा बस्ने व्यवस्थापन गर्ने गिरीलाई नियन्त्रण लिएर सार्वजनिक गरेको हो । घटनाकाबारे थप अनुसन्धान जारी रहेको र शशंकितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
सुर्खेतमा तरुण दलका नेता गिरीमाथि गोली प्रहार,४ जना प्रहरी नियन्त्रणमा