नेपालगञ्ज: बाँकेमा हालसम्म ६३.३ प्रतिशत बालबालिलकाले दादुरा–रुबेला रोग विरुद्धको खोप लगाएका छन् । फाल्गुन १३ देखि चलेको खोप अभियान अन्तर्गत तेस्रो दिनसम्म १ लाख ४ हजार ७७३ जना बालबालिकाले अर्थात खोप लगाएका हुन् ।
बाँकेमा कूल १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । हालसम्म खजुरा गाउँपालिकामा ९५.४ प्रतिशत बालबालिकाले खोप लगाइसकेका छन् । कोहलपुरमा ८२.३, राप्तीसोनारीमा ६९.४, डुडुवामा ६७.७ र बैजनाथमा ६०.६ प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले बताए । यस्तै नेपालगञ्जमा ४८.७ प्रतिशत बालबालिकाले दादुरा-रुबेला विरुद्धको खोप लगाएका छन् । जानकीमा ४४.८ र नरैनापुरमा ४०.२ प्रतिशतले खोप लगाएका छन् ।
९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ । खोप अभियान फाल्गुन ३० गतेसम्म जारी रहनेछ ।