नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित नेपालगञ्ज कारागारमा क्षमताभन्दा तेब्बरभन्दा बढी कैदीबन्दी भएपछि उनीहरूको स्वास्थ्य तथा सुरक्षाको जोखिम बढेको छ । क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी हुँदा उनीहरूको स्वास्थ्यमा समस्या देखिन थालेको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले बताए । “कैदीबन्दीलाई शौचालय जान पनि समस्या हुने गरेको छ”, उनले भने, “अत्यधिक भीडका कारण कैदीबन्दीको दैनिकी दुरदसा बन्दै गएको छ ।”
कारागारका कैदीबन्दीका लागि सरकारले प्रतिदिन जनही नगद ८० र २०० ग्राम चामल दिने गरेको छ । दाल, तरकारी, नुन, तेल ८० रुपैयाँबाटै कैदीबन्दीले किन्नुपर्ने हुन्छ । यसका साथै प्रत्येक वर्ष जाडो र गर्मीमा दुई जोर कपडा र दुई/दुई वर्षमा ओढ्ने ओछ्याउने दिने गरिएको छ । तीन सय क्षमताको कारागारमा हाल नौ सय छ जना कैदीबन्दी छन् । कारागारमा अहिले महिला कैदीबन्दी छैनन् । कैदीबन्दीको आचरण सुधारका लागि वि.सं.२००० सालमा स्थापना गरिएको कारागारको भौतिक अवस्था पनि जीर्ण भइसकेको छ ।
“नौवस्ताको क्षेत्रीय कारागारमा कैदीबन्दी स्थानान्तरण गर्न सम्बद्ध निकायसँग माग गरेका छौँ”, जेलर शाहले भने, “सो कारागारको भौतिक पूर्वाधार निर्माण सकिए पनि सञ्चालन प्रक्रिया सुरु नभएकाले कैदीबन्दीलाई सार्न ढिलाइ भइरहेको छ ।”
बाँके जिल्ला कारागारमा खचाखच गरी राखिएका कैदीबन्दीको उपचारमा समेत समस्या हुने गरेको छ । स्वास्थ्य उपचारका लागि छुट्याइएको बजेट अपुग भएको उनको भनाइ छ । “उपचार खर्च अपुग भएपछि केन्द्रीय कारागार विभागसँग थप रकम माग गर्दै आएका छौँ”, जेलर शाहले भने ।
कैदीबन्दीको उपचार नेपालगञ्जको भेरी अस्पतालमा हुने गरेको छ । तर कुनै कैदीबन्दीले आफ्नो खर्चमा अन्य अस्पताल माग गरेमा त्यहाँसमेत लैजाने व्यवस्था मिलाइएको जेलर शाह बताउँछन् ।
कारागार प्रशासनले कारागार घना बस्तीको बिचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी भएकाले सुरक्षामा चुनौती थपिएको बताएको छ । कारागारमा दुई वर्षअघि भएको कैदीबन्दीको आन्दोलनमा प्रहरीले कारबाही गर्दा दुई कैदीबन्दीको ज्यान गएको थियो ।