१० मंसिर २०८१, सोमबार

काँग्रेसबाट संविधान, धर्म निरपेक्षता र गणतन्त्रमाथि खतरा: सापकोटा
  • न्युज मानसराेवर

कोहलपुर : नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाले काँग्रेसबाट संविधान, धर्म निरपेक्षता र गणतन्त्रमाथि खतरा उत्पन्न भएपछि अर्को गठबन्धन बनेको बताएका छन् । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले बिहीबारबाट कोहलपुरमा आयोजना गरेको मिडिया सम्मेलनको उद्घाटन गर्दै नयाँ गठबन्धन गर्नु बाध्यात्मक परिस्थिती भएको बताए ।

ठुलो त्याग र बलिदानबाट प्राप्त भएका उपलब्धिमाथि खतरा उत्पन्न भएपछि गठबन्धन परिवर्तन गर्नुपरेको उनको भनाई छ । ‘शान्ति सम्झौताको सुरुवात देखि कै एक महत्वपूर्ण सहयात्री नेपाली काँग्रेसले नै शान्ति प्रक्रिया टुंगोमा पुग्न नदिने देखियो, अनि कसरी सहकार्य र समन्वय गर्न सकिन्थ्यो ?’ उनले प्रश्न गर्दै भने । सापकोटाले अहिलेको गठबन्धन प्रगतिशील गठबन्धन भएको दाबी गरे ।

यो गठबन्धन अगाडी बढ्दै गएर बृहत वामपन्थी एकताबाट यसले शक्तिशाली कम्युनिष्ट पार्टी गठन हुने बताए । कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’ ले अहिले नेपाली मिडिया एक चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेकाले सबैले सचेत भएर अगाडि बढ्नुपर्ने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारको पेसागत सुरक्षा र जीविकोपार्जन अहिलेको सबैभन्दा बढी अहम विषय बनेको बताए ।

सो क्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पुर्वमन्त्री महेश्वर गहतराज अथक, माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, लुम्बिनी प्रदेशका निर्वतमान सहरी विकास मन्त्री कृष्णा केसी नमुना लगायतको सहभागिता रहेको थियो ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट प्रेस सेन्टरमा आवद्ध पत्रकार तथा सञ्चारकर्मीसहित करिव २ सय सहभागी भएको बताइएको छ ।

  • २५ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech