११ मंसिर २०८१, मंगलवार

भेरी र शिक्षण अस्पतालले वाल वन्दिको स्वास्थ्य परिक्षण नि: शुल्क गर्ने

बालसुधार गृहमा सुरक्षा चुनौतीको समिति गर्दै सुरक्षा ब्यवस्थालाई थप प्रभावकारी र ब्यवस्थित बनाउन पहल गर्ने निर्णय

  • न्युज मानसराेवर

नेपालगञ्ज : बाँकेका दुई अस्पताल भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले बाँकेमा रहेका दुईवटा बालसुधार गृहका बालबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारमा सहयोग गर्ने भएका छन् ।

बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईको अध्यक्षतामा बाँके जिल्ला अदालतमा भएको जिल्ला बालन्याय समितिको बैठकमा भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रतिनिधिले प्रत्येक महिनाको एक पटक बालसुधार गृहमा गई बालबन्दीहरुको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण र उपचार गर्ने भएका हुन् ।

यसका लागि भेरी अस्पताल नेपालगञ्ज, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल र जिल्ला बालन्याय समितिका बिचमा लिखित सम्झौता गर्ने सहमति भएको बालन्याय समिति बाँकेका सचिव एवं बाँके जिल्ला अदालतका श्रेस्तेदार गोबिन्द आचार्यले जानकारी दिए ।

चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरको गत भाद्र १८ गतेको निर्णय र केन्द्रिय बालन्याय समितिको यही फागुन २१ गतेको पत्रानुसार बाँके जिल्लास्थित बालसुधार गृहमा रहेका बालबन्दीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको कम्तीमा महिनाको एक पटक स्वास्थ्य परीक्षण तथा उपचार गर्ने पहल थालिएको हो । बालन्याय समितिको बैठकमा केन्द्रिय परिपत्र अनुसार दुवै अस्पताल र समिति बिचमा एक हप्ता बिचमै लिखित सम्झौता भई कार्यान्वयनमा ल्याईने बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईले जानकारी दिए ।

न्यायाधीश प्रसाईको अध्यक्षतामा भएको बालन्याय समितिको बैठकमा बाँके केशवराज चपाई, ढाकाराम पौडेल, इन्द्र बहादुर कठायत, अदालतका श्रेस्तेदार गोबिन्द आचार्यको सहभागिता रहेको थियो । समितिको बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहरा, एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता बसन्त गौतम, बाँके जिल्ला बार अध्यक्ष मेहरसिंह खत्री, बालमनोबिज्ञ सुदिप भट्टराईको सहभागिता रहेको थियो ।

समितिको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राई, सहायक जिल्ला न्यायाधीवक्ता भानु चौधरी, भेरी अस्पतालका डा प्रतिभा खड्का, नेपालगञ्ज मेडिकल कलेजका डा. रोमन किदवाई र कुमार अधिकारी, जयेन्दु बालसुधार गृहका प्रमुख बिमला काउचा मगर, नौवस्ता बालसुधार गृहका प्रमुख श्याम बहादुर राना, बालन्याय समितिका सदस्यहरु सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, समाजसेवी अरुणकुमार सिंह लगायतको सहभागिता रहेको थियो ।

समितिको बैठकमा बालन्यायका बिभिन्न सवालमा छलफल गरेको थियो । बालसुधार गृहमा सुरक्षा चुनौतीको समिति गर्दै सुरक्षा ब्यवस्थालाई थप प्रभावकारी र ब्यवस्थित बनाउन पहल गर्ने निर्णय गरेको छ ।

  • २५ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech