काठमाडौँ : नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्ने पक्का गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिखित सहमति गराउने दाबी गरेका छन्।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुने दिन बिहानै सामाजिक सञ्जालमार्फत प्रतिनिधि सभा सदस्यसमेत रहेका एमाले नेता बाँस्कोटाले एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री प्रचण्डबाट आफ्ना अध्यक्षलाई एक वर्षका लागि प्रधानमन्त्री बन्ने ग्यारेन्टीको लिखित सहमति गराएरै छाड्ने दाबी गरेका हुन्।
बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक वर्ष प्रम ग्यारेन्टी हुने प्रचण्डपत्र मेटमणिले माधव नेपाललाई दिलाएरै छाड्ने पक्का देखियो। राजनीति हो, असम्भव भन्ने शब्दावली डिलिट हान्दिएँ ल जे पर्छ परोस्।’ राष्टियसभा अध्यक्षका लागि आज मतदान हुँदै छ। जसमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी नै निर्णायक बन्ने देखिन्छ।