काठमाडौँ: माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। पूर्वसभामुखसमेत रहेका महरालाई प्रहरीले सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरेको हो।
इलेक्ट्रिक सिगरेट भेपमा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरालाई यसअघि नै पक्राउ गरिसकेको थियो। केही दिनअघि मात्रै सीआईबीले सुन तस्करीमा महराको समेत संलग्नता देखिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका थिए।
मन्त्रालयमा केही दिनअघि भएको छलफलमा मन्त्री लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका थिए। गत शुक्रबार मात्र मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो। यो प्रकणमा उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरूसमेतलाई आयोगले दोषी देखाएको छ।