११ मंसिर २०८१, मंगलवार

बैजनाथामा भूमी आयोगको काममा तिब्रता

बैजनाथ गाउँपालिकाका अभियन्ता स्वर्गिय बैजनाथ थारुको गाउँ वडा नम्बर ७ को पेडारीबाट कामको सुरुवात

  • न्युज मानसराेवर

बैजनाथ,बाँके :बैजनाथ गाउँपालिकाले ऐलानी जग्गा नापजाँचको काम औपचारिक रुपमा सुरु गरेको छ । भूमिहिन दलित, भूमिहिन सुकुमबासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा बाँड्ने तयारी स्वरुप नापजाँच कार्य बुधबारबाट सुरु गरिएको हो ।

बैजनाथ गाउँपालिका वडा नम्बर ७ स्थित पेडारीबाट जग्गा नापजाँचको काम सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार वडा नम्बर ७ बाट सुरु भएको नापजाँचलाई गाउँपालिकाको अन्य वडामा अगाडी बढाइनेछ ।

स्थानीय तह निर्वाचनको समयमा आफुले लालपुर्जा वितरणको कामलाई घोषणापत्रमा प्रमुखताका साथ राखेको स्मरण गर्दै अध्यक्ष शाहीले निर्वाचित भएपछि आफ्नो बढी समय पनि यही काममा खर्च भएको बताए । नापजाँच शुभारम्भ गर्दै अध्यक्ष शाहीले सात पुस्तादेखी जग्गा उपभोग गर्दै आएपनि लालपुर्जा पाउन नसकेका जनताले अब चाडै पाउने विश्वास ब्यक्त गरे ।

Baijanath_Jagga Napjach Photo 21710954450.jpeg

‘पटक-पटक सरकार आएर बाचा गर्ने, चुनावी नारा लगाउने, पटक-पटक आयोग बन्ने, काम निस्कर्ष बिहिन हुने अवस्था थियो,’ उनले भने ‘जनताहरु आशै आशमा बस्ने, जुन किसिमको जनताले सास्ती भोगेका थिए, त्यसलाई अन्त्य गर्नुपर्छ भनेर बैजनाथ स्थानीय सरकारसहित  जुन हाम्रो टिम छ, यो टिमले सहजीकरण गर्यो, जिरोबाट सुरु गरेर काम गरेका छौं, हामी अन्तिम चरणको प्रक्रियामा नापजाँचमा छौं ।’
बैजनाथ गाउँपालिकाका अभियन्ता स्वर्गिय बैजनाथ थारुको गाउँ वडा नम्बर ७ को पेडारीबाट हरेक राम्रा कामको सुरुवात गर्दै आएको अध्यक्ष शाहीले सुनाए ।

भूमिहिन दलित, भूमिहिन सुकुमबासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्नका लागि आफुहरुले निस्पक्ष रुपले काम गरिरहेको उनले बताए । ‘हामीले निस्पक्ष रुपमा काम गरेका छौं, भूमी आयोग बाँकेको अध्यक्षले हामीलाई धेरै साथ दिनु भएको छ, बैजनाथ गाउँपालिका र वडा स्तरिय सहजीकरण समितिले पनि सहयोग गरेको छ, राजनीतिक दलले पनि साथ दिनु भएको छ,’ शाहीले भने ।

राष्ट्रिय भूमि आयोग बाँकेका अध्यक्ष सर्वणकुमार यादवले वर्षौदेखी भोग चलन गर्दै आएको जग्गाको नाँपजाँच गरेर पुर्जा गराउने प्रक्रिया सुरु भएको बताए । ‘हामीले निस्सा वितरण गरिसकेका छौं, निस्सा अनुसार चढाउँदै अगाडी बढ्नेछौं, जतिसक्दो छिटो पुर्जा बनाउनेछौं,’ उनले भने ‘आयोगको तर्फबाट नापी अधिकृतलाई निर्देशन दिइसकेको छु, उहाँले कर्मचारीलाई खटाइसक्नु भएको छ, जतिसक्दो चाडो नापजाँचको काम सम्पन्न गरेर लालपुर्जा वितरण गरिनेछ ।’

Baijanath_Jagga Napjach Photo 31710954450.jpeg

बैजनाथ गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि पनि यस विषयमा सम्वेदनशिल रहेको र एकदमै इमान्दारी पूवर्क काम गरिरहेको अध्यक्ष यादवले बताए । चालु आर्थिक वर्षको असार महिनासम्म लालपुर्जा दिने हिसाबले काम अगाडी बढाएको उनले सुनाए । आफ्नो कार्यकालमा जिल्लाका ८ वटै स्थानीय तहमा लालपुर्जा वितरणको काम सम्पन्न गर्ने अठोटका साथ अध्यक्ष यादव नेतृत्वको समिति सक्रियता पूर्वक लागेको छ ।

बैजनाथ गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दिनेशकुमार थारुले वर्षौदेखी जग्गा उपभोग गर्दै आएपनि लालपुर्जा पाउन नसकेको अवस्थामा अहिले काम अगाडी बढेकाले विवाद नगरेर जानुपर्ने बताए । ‘लालपुर्जा दिन त्यति सजिलो छैन, हाम्रो वडामा कतिपय निस्सा पाउनबाट छुट्नु पनि भएको छ, उहाँहरुलाई निस्सा दिएर नापजाँचको काम गरिनेछ, विवाद नगरेर छिटो भन्दा छिटो काम गर्नुपर्छ,’ उनले भने ‘जतिसक्दो छिटो हामीले काम गर्नुपर्छ, लालपुर्जा वितरणको काम पनि वडा नम्बर ७ बाटै हुने अपेक्षा गरेको छु ।’

बैजनाथ गाउँपालिका र वडा स्तरमा रहेका भुमि सहजीकरण समिति पनि सक्रियता पूर्वक लागेको पाइएको छ । जग्गा नापजाँचका लागि आयोग र गाउँपालिकाबाट प्राविधिक टोली परिचालन भएको छ । आवश्यकता अनुसार प्राविधिक टोली थप हुने गाउँपालिकाले जनाएको छ ।

 

 

  • ८ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech