नेपालगन्ज:पछिल्ला केही दिनदेखि नेपालगन्जमा बढ्दै गइरहेको अत्यधिक गर्मी र सुख्खा तातो हावाको लहरका कारण आँखा सम्बन्धी बिरामीको सङ्ख्या बढेको छ। दैनिकरुपमा आँखा परीक्षण गराउन आउने सर्वसाधारणको सङ्ख्या बढेको आँखा अस्पतालले जनाएको छ ।
फत्तेबाल आँखा अस्पताल नेपालगन्जका प्रबन्ध निर्देशक डा.कौशलकुमार बर्माले अत्यधिक गर्मी तथा सुख्खा तातो हावाको लहरका कारण दैनिकरुपमा आँखा परीक्षण गराउन अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । दैनिक आँखा सम्बन्धी विभिन्न समस्याहरू लिएर अस्पताल आउने बिरामीमा पछिल्ला केही दिनमा आँखा सुख्खा हुने समस्या बढी पाइएको उहाँले जानकारी दिए ।
“अत्यधिक गर्मी तथा सुख्खा तातो हावाको लहरका कारण अस्पतालमा आँखा परीक्षण गराउन आउने सर्वसाधारणको चाप बढेको छ, सुख्खा तातो हावाको लहरमा धुलोका मसिना कणहरू हुने गर्दछ, त्यसता कण आँखाको नानीमा टाँसिन्छ, जसका कारण आँखाका अन्य समस्या भन्दा आँखा सुख्खा हुने बिरामीको संख्या बढी छ ।” फत्तेबाल आँखा अस्पतालमा दैनिक सरदर चार सयको हाराहारीमा आँखा सम्बन्धी विभिन्न रोगी बिरामीहरू आँखा परीक्षण गराउन आउने गरेको डा. बर्माले बताउनुभयो ।
उहाँका अनुसार अन्य समयभन्दा यो समयमा आँखा परीक्षण गराउन आउने बिरामीहरूको चाप बढेको छ । जसमा आँखा सुख्खा हुने समस्या बढी भएका बिरामीहरू आउने गरेको उनको भनाइ छ । उनले आँखा पोल्ने, बिझाउने, चिलाउने, आँसु आउने जस्ता समस्या देखिएमा अस्पतालमा पुगी आँखा परीक्षण गराउनु पर्ने बताउनुभयो । तातो हावाका कारण हावामा सुख्खापन हुने र सुख्खा हावाले गर्दा आँखा सुख्खा हुने समस्या देखिएपनि तातो हावा कम भएपश्चात् या पानी परेपश्चात् यो समस्या बिस्तारै हट्दै जाने उनको भनाइ छ ।
आँखा सुख्खा हुने बिरामीहरूका आँखामा केही बिझाएको जस्तो महसुस हुने, आँखा चिम्लिरहन मन लाग्ने, आँखामा चिप्रा लाग्ने तथा च्यापच्याप हुने, आँखा पोल्ने तथा रातो देखिने, आँखामा असजिलो महसुस हुने तथा आँखा सुख्खा हुने र दुख्नेलगायतका लक्षण देखिने डा. भारतीले जानकारी दिए ।
उनले आँखासम्बन्धी विभिन्न रोगहरूबाट बच्नका लागि पटकपटक चिसो र सफा पानीले आँखा बन्द गरेर कम्तीमा दुई मिनेटसम्म आँखा धुने, धुलो र घाममा सिधै आँखा नपार्ने, एअर कन्डिसनर, कुलर, पङ्खाको हावा सिधै आँखामा पर्न नदिने, कम्प्युटर, ल्यापटप तथा मोबाइलहरूमा लामो समयसम्म लगातार काम नगर्ने तथा प्रयोग नगर्ने, धुलो र घामबाट बच्नका लागि कालो चस्माको प्रयोग गर्ने लगायतका उपायहरू अपनाउनु पर्ने बताए ।