जानकी, बाँके: जनप्रतिनिधिहरुसँग सुरक्षित आप्रवासन सम्वन्धि एक दिने अन्तरक्रिया कार्यक्रम जानकीमा आज सम्पन्न भएको छ । कार्यक्रम जानकी गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा सम्पन्न भएको हो ।
जानकी गाउँपालिकाबाट विदेशमा रोजगार गर्न जाने, रोजगार गर्न चाहने, कस्तो खालको रोजगार दिन सकिन्छ र सुरक्षितरुपमा उनीहरुलाई ती देशसम्म पुर्याईदिने तथा कुनै घटना घट्दा कहाँ कसरी सम्पर्क गर्ने, उनीहरुको परिवारले कसरी सम्पर्क गर्ने भन्ने कुराको सम्पूर्ण जानकारी पहिला जनप्रतिनिधिहरुले नै थाहा पाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए ।
वडा नम्वर ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजनले कहाँ कहाँ कसरी के के जानकारी राख्दा विदेशमा जाँदा कुनै पनि समस्या झेल्नु पर्दैन, सुरक्षित स्थानमा पुग्न सकिन्छ र त्यहाँ गएर दुई पैसा कमाउन सकिन्छ भन्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । साथै रोजगारीका लागि विदेश गएको समयमा कुनै घटना घटिहालेको खण्डमा त्यस देशबाट आउनको लागि कस्तो किसिमले व्यवस्था मिलाउनुपर्छ, कहाँ कहाँ जानुपर्छ ती सबै कुरा थाहा पाउन आवश्यक रहेको उनको भनाई थियो ।
वडा नम्वर ६ का वडा अध्यक्ष हरिजनको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्ष मो. रजा राई, २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, ५ का वडा अध्यक्ष टिकानाथ यादव, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुको उपस्थिति रहेको थियो । रोजगार सेवा केन्द्रकी प्रमुख सिमा चौधरीले सञ्चालन गरेको कार्यक्रममा वैदेशिक रोजगार वोर्डकी अधिकृत लक्ष्मी चौधरी, सिएमसी नेपालका मनोविद् दिपक शर्मा, सामीका घनश्याम वलीले प्रस्तुतिकरण गरेका थिए ।













