नेपालगञ्ज: विद्यालय विमुख किशोरीलाई जीवनोपयोगी सीप सिकाउने उद्देश्यले तालिम दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले चालू आर्थिक बर्षमा तीन वटा वडाका तीन वटा बस्तीमा पुगेर विद्यालय विमुख किशोरीलाई जीवनोपयोगी सीप सिकाउने उद्देश्यले तीन दिने तालिम दिएको हो ।
वडा नम्बर १७ परसपुर, वडा नम्बर २२ पुरैनी र वडा नम्बर ६ रामनगरमा ३५/३५ जना विद्यालय विमुख किशोरीलाई तालिम दिइएको महिला विकास अधिकृत पवित्रा पुरीले बताइन् । विद्यालयमा पाइला टेक्दै नटेकेका, सानै कक्षामा विद्यालय छाडेका, मदरसामा सामान्य शिक्षा लिएर माथिल्लो कक्षा नपढेका किशोरीलाई जीवनोपयोगी सीप अन्तर्गत १० वटा सीपहरु सिकाइएको पुरीले जानकारी दिइन् । किशोरीहरुलाई आत्म जागरण सीप, निर्णय क्षमता सीप, समस्या समाधान सीप, सिर्जनात्मक सोचाई सीप, समालोचनात्मक सोचाई सीप, प्रभावकारी संचार सीप, अन्तर व्यक्ति सम्बन्ध सीप, अनुभूति सीप, संवेग नियन्त्रण सीप र तनाव व्यवस्थापन सीप विकाससम्बन्धि तालिम दिइएको छ । टोलमै पुगेर विद्यालय विमुख किशोरीको समूह बनाई उनीहरुलाई तालिम दिइएको हो ।
महिला शाखा प्रमुख महिला विकास अधिकृत मञ्जु पाण्डे, महिला विकास अधिकृत पुरी, आशा शाही, केशव कोइराला, सिद्धराज पनेरु, विनिता रेग्मी, आशा नेपाली, दिपा साउद र निर्मला खनालले तालिममा सहजीकरण गरेका थिए । किशोरीहरुलाई आत्म जागरुक र सिर्जनशील बनाउँदै निर्णय क्षमता बढाउनुका साथै किशोरावस्थामा देखिने संवेगहरु व्यवस्थापन गर्न सिकाई सार्थक जीवन जिउन सक्षम बनाउने उद्देश्यले तालिम दिइएको महिला विकास अधिकृत पुरीले बताइन् ।